कुन रुटमा कति घट्यो हवाई भाडा ?


नेपाल आयल निगमले हवाई इन्धनको साविकको १ सय ७० रुपैयाँ प्रतिलिटर मूल्यमा १० रुपैयाँ घटाएपछि आन्तरिक उडानमा रहेका वायुसेवाको हवाई भाडा घटेको छ ।

नागरिक उड्डयन प्राधिकरणका सहप्रवक्ता ज्ञानेन्द्र भुलका अनुसार, सुगम रुटमा सबैभन्दा धेरै काठमाण्डौं–धनगढी सेक्टरको हवाई भाडामा ४ सय ४० रुपैयाँ फ्युल सरचार्ज घटेको छ भने सबैभन्दा कम काठमाण्डौं सिमरा रुटमा ९० रुपैयाँ घटेको छ ।

नेपाल आयल निगमले हवाई इन्धनको मूल्य घटाएसँगै एयरलाइन्सको हवाई भाडा घटेको हो । वायुसेवा सञ्चालक सङ्घले यही चैत २२ गतेदेखि लागू हुने गरी हवाई भाडा समायोजन गरेको हो ।

निगमले सोमबार हवाई इन्धनको प्रतिलिटर १० रुपैयाँ ले कटौती गरेको थियो । सोअनुसार काठमाण्डौंबाट धनगढीको उडानमा सबैभन्दा धेरै रु चार सय ४० भाडा घटेको छ । यसअघि यो रुटमा यात्रुले हवाई यात्राका लागि मात्र  सात हजार पाँच सय १० रुपैयाँ तिर्नुपथ्र्यो भने अब सात हजार ७० रुपैयाँ भाडा कायम गरिएको छ ।

काठमाण्डौंबाट हुने पर्वतीय उडान (माउन्टेन फ्लाइट) को भाडा तीनसय ४५ रुपैयाँ घटेर अधिकतम भाडा पाँच हजार चार सय ९० रुपैयाँ कायम भएको छ । काठमाण्डौं –भद्रपुर रुटमा तीन सय रुपैयाँ , विराटनगरमा दुई सय ४० रुपैयाँ, जनकपुरका लागि एक सय ३० रुपैयाँ, पोखराका लागि एक सय ५५ रुपैयाँ, भरतपुरका लागि एक सय १० रुपैयाँ, भैरहवाको दुई सय पाँच रुपैयाँ, नेपालगञ्जका लागि एक सय ८५ रुपैयाँ र सुर्खेतका लागि तीन सय ४५ रुपैयाँ हवाई भाडा घटेको छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।