मोरङ व्यापार संघका अध्यक्ष रिजाल एफएनसीसीआईको केन्द्रीय सदस्यमा भिड्दै


नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसीसीआई) को केन्द्रीय सदस्य पदमा मोरङ व्यापार संघका अध्यक्ष नविन रिजालले उम्मेदवारी दर्ता गराएका छन् ।

आगामी चैत २८ र २९ गते हुन गइरहेको ५७ औँ वार्षिक साधारण सभा तथा निर्वाचनमा उद्योगी रिजालले नगर तथा जिल्ला तर्फबाट खुल्ला केन्द्रिय सदस्य पदको लागि उम्मेदवारी दर्ता गराएका हुन् ।
रिजाल नेपालकै जेठो प्रतिष्ठित उद्योगी व्यवसायीहरुको संस्था मोरङ व्यापार संघका अध्यक्ष हुन् । मोरङ व्यापार संघमा कार्यसमिति सदस्य, प्रवक्ता, महासचिव, वरिष्ठ उपाध्यक्ष हुँदै रिजाल नेतृत्वमा पुगेका हुन् ।

रिजाले आफूलाई देशभरीकै उद्योगी व्यवसायीहरुको साझा उम्मेदवारको रुपमा आफूलाई उभ्याएको बताएका छन् । रिजाललाई कोशी प्रदेश उद्योग वाणिज्य संघसंस्थासँग आवद्ध अधिकांश उद्योगी व्यवसायीको समर्थन छ ।

मोरङ व्यापार संघका निवर्तमान अध्यक्ष प्रकाश मुन्दडा, पूर्वअध्यक्षहरु पवनकुमार सारडा, महेश जाजु, नन्दकिशोर राठी, शंकरलाल अग्रवाल, खेमचन्द जैन, ताराचन्द खेचान, देवेन्द्र अग्रवाल, सुरेशकुमार शर्माको साथ र सहयोग उनलाई छ । केन्द्रिय सदस्यमा उम्मेदवारी दिएसँगै रिजाल उद्योगी व्यवसायीसँग मत माग्न व्यस्त छन् ।

उद्योग वाणिज्य महासंघमा दलीय राजनीति उत्कर्षमा, ‘भातृ संगठन बनाउने भए’

मुलुकको अर्थतन्त्रमा निजी क्षेत्रले खेल्न सक्ने भूमिकाका विषयमा आफूले गर्न सक्ने सहयोगका लागि हरदम तयार रहेको उनले बताए । पछिल्लो पटक बैंक वित्तीय संस्थाका बिरुद्ध चलेको देशव्यापी आन्दोलनमा रिजालले सकृयता देखाएका थिए । अभियानको संयोजक समेत बनेका उनले देशभरका उद्योगी व्यवसायीका बिचमा आफुलाई सोही अभियानबाट धेरै चिनाएका थिए ।

मुलुकमा आएको विनाशकारी भूकम्प तथा कोरोना संक्रमणका कारण मुलुकको नै आर्थिक अवस्था संकटग्रस्त बनेको छ । अर्थतन्त्रका सबैजसो सूचकहरुमा नराम्ररी प्रभावित भएका छन् । जसका कारण अझै आर्थिक तरलतामा सुधार आउन सकेको छैन । यसका लागि सरकार र निजी क्षेत्रले समन्वयकारी भूमिका निर्वाह गर्दै औद्योगिक लगानी मार्फत अर्थतन्त्र चलायमान बनाउनुपर्ने उनी बताउँछन् ।

भारत बथनाहाको मिरगञ्ज पुल निर्माणका लागि नेपाल र भारत सरकार समक्ष लामो समयसम्म रिजालले संघर्ष गरेका थिए ।

महासंघका निर्वाचनमा पुर्वका व्यवसायीहरुको तर्फबाट करिब एक दर्जन संख्यामा उम्मेदवारी परेको छ । कोशी प्रदेशबाट महासंघको सदस्यका लागि प्रतिनिधित्व गर्न उद्योग वाणिज्य संघबाट इटहरीको तर्फबाट सुनसरीका टंक प्रसाद दुलाल, मेची उद्योग वाणिज्य संघको तर्फबाट झापाका नरेन्द्र कुमार खड्का र ताप्लेजुङ्ग उद्योग वाणिज्य संघको तर्फबाट तारानाथ घिमिरे सदस्यका लागि प्रतिस्पर्धामा उत्रिएका छन् ।

यस्तै उद्योग वाणिज्यबाट महासंको केन्द्रीय सदस्यमा नेपाल अलैंची व्यवसायी संघको तर्फबाट इलामका राजकुमार कार्की ‘राजु, उदयपुर उवासंघबाट प्रयास कार्की, उर्लाबारी उवासंघबाट चन्द्र बहादुर भट्टराई (भरत), सुनसरी उवासंघको तर्फबाट राजेन्द्र साह, दमक उवासंघको तर्फबाट गोकुल श्रेष्ठ, झापा उद्योग वाणिज्य संघको तर्फबाट उमेश डालमिया, पाँचथर उवासंघबाट दिपक नेपालले उम्मेदवारी दिएका छन् ।

निर्वाचन समितिका अनुसार महासंघको केन्द्रीय सदस्यका लागि उद्योग वाणिज्यबाट १८ सदस्य पदका लागि एक महिला सहित ३२ जनाको उम्मेदवारी परेको छ । निर्वाचनको मत परिणम आएपछि १४ जना उम्मेदवारहरु बाहिर रहनेछन् ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।