उद्योग वाणिज्य महासंघमा दलीय राजनीति उत्कर्षमा, ‘भातृ संगठन बनाउने भए’

0
Shares

इतिहासकै कमजोर अवस्थामा पुगेको नेपाल उद्योग वाणिज्य महासंघमा दलीय राजनिति उत्कर्षमा पुगेको छ । उम्मेदवार स्वयम् कुनै पनि हालतमा नतिजा आफ्नो पक्षमा पार्नका लागि राजनीतिक शक्तिकेन्द्र धाउँदा महासंघमा दलीय राजनीति उत्कर्षमा पुगेको हो ।

अहिले वरिष्ठ उपाध्यक्षको दौडमा ३ जना प्रत्यासी कसरत गरिरहेका छन् । मतदाताहरु कुनै न कुनै राजनीतिक दलमा आबद्ध भएको हुने र दलीय ह्वीप लाग्ने भन्दै उम्मेदवारहरु अहिले राजनीतिक दलको सहयोगमा दौडधुप गरिरहेका छन् ।

उमेशलाल श्रेष्ठ, अन्जन श्रेष्ठ र रामचन्द्र संघईका बिच वरिष्ठ उपाध्यक्षमा त्रिपक्षीय प्रतिष्पर्धा हुने निश्चित भईसकेको सन्दर्भमा मत किनबेच, राजनीतिक दलको ह्वीप लगायतका काम तिब्र भइरहेको व्यवसायीहरु नै बताउँछन्।

पुँजी बजार सम्बद्ध विभिन्न निकाय तथा बजारमा सक्रिय रहँदै आएकी काँग्रेस सभापति शेर बहादुर देउवा पत्नी अहिले उद्योग वाणिज्य महासंघको नेतृत्व चयन प्रकृयामा पनि सक्रिय भएकी छिन् । त्यसैगरी नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली तथा एमालेका अन्य नेताहरु पनि महासंघको राजनीतिमा होमिएका छन् ।अर्कातिर नेपाली काँग्रेसका महामन्त्री गगन थापा र उनका निकटतमहरु पनि महासंघको निर्वाचनमा नतिजा आफ्नो पक्षधरको पक्षमा पार्ने खेलमा सक्रिय छन् ।

देउवापत्नी आरजु राणाले वरिष्ठ उपाध्यक्षका प्रत्यासी रामचन्द्र संघईलाई नजिकबाट सहयोग गर्ने बचन दिएसँगै उपाध्यक्षका उम्मेदवारहरु एक प्यानलबाट अर्को प्यानलमा पुग्ने अवस्था बनेको थियो । केही समय अघि अन्जन श्रेष्ठको प्यानलबाट एशोसिएट उपाध्यक्षमा उम्मेदवारी दिने तयारी गरेकी ज्योत्सना श्रेष्ठ आरजुको हस्तक्षेपका कारण रामचन्द्र संघई प्यानलमा पुगेकी थिइन् । यसका अलावा केही काँग्रेस सम्बद्ध नेताहरु पनि संघई प्यानलको पक्षमा मत मतान्तर गराउन लागि रहेका छन् ।

काँग्रेस निकट उद्योगी व्यवसायीहरुलाई आरजु पक्षधरहरुले निरन्तर मत मागिरहेको अवस्था मतदातामा लुक्न सकेको छैन । उता काँग्रेस महामन्त्री थापा र उनका नजिकका नेता कार्यकर्ताले भने वरिष्ठ उपाध्यक्षका प्रयासी अन्जन श्रेष्ठ र उनको समुहलाई सहयोग गरिरहेका छन् । काँग्रेस भित्रै आरजु र थापाका बिचमा महासंघ निर्वाचनमा समेत देखिएको ध्रुबीकरणका विषयमा मतदाताहरुले खुलेर बहस गरिरहेका छन्।गगन थापाको सक्रियतालाई पूर्णबिराम लगाउन आरजुले ज्योत्सनालाई संघई प्यानलमा पुर्याएको चर्चा मतदाताहरुमा चलिरहेको छ । यस क्रममा आर्थिक लेनदेनको विषय पनि उत्तकै गरमा गरम विषय बनिरहेको छ ।

एफएनसीसीआईमा त्रिपक्षीय भिडन्त: ६४ पदका लागि ११९ जना प्रतिस्पर्धामा

राजनितिक दलका नेताहरुको प्रत्यक्ष हस्तक्षेपले महासंघ कमजोर बन्दै गइरहेको उनीहरुको चिन्ता छ । काँग्रेस भित्रको मतान्तरलाई एकाएक महासंघमा पनि प्रवेश गराइएको भन्दै मतदाताहरुले महासंघको भविष्यप्रति चिन्ता व्यक्त गर्न थालेका छन् ।

उता नेपाल कम्युनिष्ट पार्टीका संस्थापक महासचिव पुष्पलाल श्रेष्ठ एवं नेतृ साहना प्रधानका छोरा उमेशलाल श्रेष्ठलाई नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीदेखि विभिन्न तह र तप्काका नेताहरुले प्रत्यक्ष रुपमा सहयोग गरिरहेका छन् । एमाले निकटस्थ महासंघका नेता, पुर्व अध्यक्ष तथा पुर्व उपाध्यक्षहरुलाई बोलाएर एमाले अध्यक्ष ओलीले उमेशलालको हित नहुने किसिमका अभियानमा सहभागि नहुन चेतावनी नै दिएका थिए । जसका कारण महासंघकी निवर्तमान अध्यक्ष भवानी राणा, पुर्व उपाध्यक्ष किशोर प्रधान लगायत अन्य व्यवसायीहरु अहिले चुनावी सरगर्मीका बिच मौन अवस्थामा बसेर आन्तरिक गृहकार्य गरिरहेका छन् ।

उल्लेखित घटनाक्रमका बारेमा जानकार महासंघ निकट व्यक्तिहरु महासंघलाई राजनीतिक दलको भातृ संगठन बनाउन लागिएको भन्दै चिन्ता गर्छन् । यस्ता कृयाकलापको बिरोध गर्दा कसैले ध्यान नदिइ नतिजा आफ्नो पक्षमा पार्ने दौडमा मात्र नयाँ तथा पुराना नेतृत्व लागेको महासंघमा सक्रिय एक व्यवसायी बताउँछन् । “यस्ता कृयाकलापले महासंघको साख निरन्तर घटिरहेको छ । अहिले देखिएको राजनीतिक दलको हस्तक्षेप विगतमा पनि थियो, तर अहिले महासंघ इतिहाँसकै कमजोर अवस्थामा पुगेका बेला राजनितिक दल र नेताहरुको सक्रियता उत्कर्षमा पुगेको छ,” उनी भन्छन्, “अहिले महासंघमा व्यवसायिक हितका विषय ओझेलमा परेका छन्, कसरी नेतृत्वमा पुग्ने अनि व्यक्तिगत स्वार्थलाई बढावा दिने भन्ने गलत प्रवृत्ति हाबी भएको छ । त्यस्तो अभिलाषा पुरा गराउन आर्थिक लेनदेनसँगै राजनितिक दलका नेताहरुको सक्रियता बढेको हो ।”

दशक अघिसम्म महासंघले तय गरेका विषयमा सरकारले चासो दिने, महासंघका एजेण्डाले स्थान पाउने गरेको थियो । विभिन्न निकायमा महासंघबाट प्रतिनिधित्व हुँदै आएकोमा अहिले त्यस्तो प्रतिनिधित्व हटाउन नीतिगत रुपमा व्यवस्था हुने क्रम सुरु भएको छ । अर्कातिर महासंघले उठान गरेका विषय वस्तुलाई सरकार तथा अन्य सम्बद्ध निकायले महत्व दिने गरेका छैनन् ।

“हामीले देखेको त्यो महासंघले अघि सारेको विषय सबैभन्दा धेरै प्राथमिकतामा पथ्र्यो, अहिले कतिपयले महासंघको नाम लिँदा नाक खुम्च्याउने अवस्था बनेको छ,” महासंघमा लामो समय बिताएका एक व्यवसायीले भने, “महासंघमा बसुन्जेल आफ्नो व्यवसाय बिस्तारमा लबिङ गर्ने, रिटायर्ड भए पछि फर्केर नहेर्ने प्रवृत्तिले महासंघ कता जाँदैछ भन्ने चिन्ता बढेको छ । अबको नेतृत्वले यसमा बिचार गर्नैपर्छ ।”

महासंघको साख गिर्दा अवस्थामा रहेको बताउने उद्योगी व्यवसायीहरु राजनितिक दलको भातृ संगठनका रुपमा महासंघ स्थापीत हुनेमा चिन्तित छन् । “महासंघको स्थापना जुन मर्मलाई केन्द्रमा राखेर भएको थियो, त्यो अहिले हराईसकेको छ । पछिल्ला केही वर्षयतादेखि पसेको दलीय राजनिति अनि आर्थिक लेनदेनका विषयले महासंघलाई दलको भातृ संगठन बनाउलान भन्ने चिन्ता लाग्न थालेको छ,” अर्का एक पुराना व्यवसायीले भने ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।