नेपाली नयाँ वर्षमा फेवतालको शिरमा ‘फस्ट खपौदी कार्नीवल’

0
Shares

नयाँ वर्षमा खपौदीमा मेलाको आयोजना गरिने भएको छ । फेवा पर्यटन विकास समितिले नेपाली नयाँ वर्ष २०८० को अवसर पारेर ‘फस्ट खपौदी कार्नीवल’ नाम दिएर मेला गर्न लागेको हो ।

शनिबार आयोजना गरिएको पत्रकार सम्मेलनमा फेवा पर्यटन विकास समितिका अध्यक्ष अर्जुन सुवेदीले चैत ३० र बैसाख १ गते दुई दिने मेलाको आयोजना गरिएको जानकारी गराए । मेला पहिले प्याराग्लाइडिङ ल्याण्डिङ हुने स्थानमा हुनेछ । ‘हामीले नेपाली नयाँ वर्षको अवसर पारेर ‘फस्ट खपौदी कार्नीवल’ नाम दिएर मेलाको आयोजना गर्न लागेका हौं । फेवा पर्यटन विकास समिति पाँच वर्षदेखि क्रियाशील संस्था भएता पनि कार्यक्रम भने पहिलो हो ।’,उनले भने ।

उनले मेला चैत ३० गते साँझबाट अनौपचारिक रुपमा सुरु गरिने र बैसाख १ गते नै औपचारिकता गर्ने गरी तयारी गरिएको बताए । फेवातालको उत्तर तर्फको गैह्राचौतारा देखि चंखपुर पामे सम्मको क्षेत्र आन्तरिक तथा बाह्य पर्यटकहरुका लागि आकर्षण केन्द्रविन्दु भएका कारण पर्यटकहरुलाई नै आकर्षित गर्ने उद्देश्य स्वरुप कार्यक्रमको आयोजना गरिएको उनले उल्लेख गरे ।

मेलामा स्थानीय नौमती बजा सहित विभिन्न समुदायको झाँकीहरु प्रदर्शन गरिनेछ । ख्याती प्राप्त कलाकारद्वारा दुई दिन नै सांगीतिक तथा सांस्कृतिक प्रस्तुति रहने मेलाका सांस्कृतिक संयोजक अल्फान्जो रिर्सोटका संचालक सुभाष भट्टराईले जानकारी दिए । उनले उक्त कार्यक्रममा लाइभ ब्याण्ड र डिजे सेसन पनि रहने उल्लेख गरे । खानाका विभिन्न स्टलहरु मेलामा रहनेछन् । स्थानीय माछा तथा कृषि उत्पादनको प्रदर्शन सहित डुङ्गा दौड लगायतका खेलकुदका कार्यक्रमहरुलाई पनि प्राथामिकतामा राखिएको भट्टराईले बताए । 

फेवा पर्यटन विकास समितिमा हाल एक सय भन्दा बढी व्यवसायीहरु आबद्ध छन् । कोभिड महामारीको कारण थला परेको पर्यटन क्षेत्रलाई माथि उकास्न समितिले यसअघि सानातिना सामाजिक र व्यवसायिक कार्यक्रम गर्दै आएको छ । कोभिड पछि अर्थतन्त्रमा सुधार नहुँदा यस्ता मेला महोत्सव मार्फत अर्थतन्त्र चलायमान बनाउन मदत पुग्ने विश्वास आयोजकको छ ।

कार्यक्रमलाई सफल पार्न २५ लाख खर्च लाग्ने अनुमान गरिएको छ । मेला अवधिभर २० हजार भन्दा बढी दर्शक भित्र्याउने लक्ष्य रहेको समितिका सचिब शिब थापाले बताए । उनले प्रवेश निःशुल्क रहेको जानकारी दिए । सोहि समयमा पोखरामा फेवा नयाँ वर्ष महोत्सवको आयोजना गरिएता पनि आफुहरु भने उक्त कार्यक्रमको समेत समर्थनमा रहेको थापाको भनाई छ ।

हानले वर्षेनी गर्दै आएको फेवा नव वर्ष महोत्सवमा आफुहरुलाई समावेश नगरिएता पनि फेवा पर्यटन विकास समिति भने उक्त महोत्सवलाई समेत सफल बनाउन लागिपर्ने भनाई उनको छ । ‘खपौदी कार्नीवल’ बाट प्रत्यक्ष र अप्रत्यक्ष रुपमा फाइदा फेवा नव वर्ष महोत्सवलाई समेत हुने उनले बताए ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।