एफएनसीसीआईमा महिला सहभागिता न्यून, मनोनयनको ५% मात्रै उम्मेद्वार

0
Shares

नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसीसीआई) को नयाँ कार्यकारिणी समितिमा पुग्न चाहने इच्छुक महिलाहरु ज्यादै न्यून देखिएका छन् । नयाँ कार्यमतिमा पुग्नका लागि चैत २१ गते मंगलबार भएको मनोनयन दर्तामा ११९ जनाले उम्मेदवारी दर्ता गराएकोमा महिलाउम्मेद्वारको संङ्ख्या ६ जना मात्र रहेको छ ।

मुलुकको सर्वोच्च पद राष्ट्रपतिका महिला नेतृत्वबाटै दुई कार्यकाल सम्पन्न भएको छ । देशको हरेक क्षेत्रमा कम्तिमा ३३ प्रतिशत महिला संलग्नता अनिवार्य गरिएको छ । तथापी महासंघमा चुनिने त परको कुरा उम्मेदवारी दर्तामा समेत उल्लेख्य उपस्थिति नदेखिएको हो । एनएनसीसीआईमा हालका अध्यक्ष शेखर गोल्छाभन्दा अघि भवानी राणाले महासंघको नेतृत्व गरिन् । इतिहासमै भवानी राणा पहिलो पटक विसं २०७३ सालमा महासंघको अध्यक्ष बनेकी थिइन् । यद्यपी उनको कार्यकालमा समेत महासंघमा महिला उपस्थितिलाई बढाउन सकिनन् ।

नेपाल उद्योग वाणिज्य महासंघको निर्वाचनमा ६४ पदका लागि निर्वाचन हुँदैछ । सोमध्ये लुम्बिनी प्रदेशबाट चयन हुने सदस्य तथा द्धिराष्ट्र उद्योग संघको तर्फबाट चयन हुने सदस्य सर्वसम्मत बन्दा दुबै पुरुष चयन भएका छन् । अब ६२ मा भने निर्वाचन मार्फत टुङ्गो लाग्नेछ ।

नेउवा महासंघ निर्वाचन समितिको कार्यालय टेकुले सार्वजनिक गरेको विवरण अनुसार आवश्यक पदभन्दा करिब दोब्बर संङ्ख्यामा उम्मेदवारी परेपनि महिला आकांक्षी भने न्यून देखिएको हो । महासंघमा उम्मेदावरी दिएका ११९ जनामध्ये ६ मात्रै महिला छन् । उम्मेद्वारी दिएका महिलाहरुमा ज्योत्सना श्रेष्ठ, शोभा ज्ञवाली, कमला श्रेष्ठ, कल्पना गैरे, राज्यलक्ष्मी महर्जन (शाक्य), जुना माथेमा छिन् ।  विद्यान अनुसार महासंघको अध्यक्षमा हालका बरिष्ठ उपाध्यक्ष चन्द्र प्रसाद ढकाल स्वतः हुनेछन् । बरिष्ठ उपाध्यक्षका लागि तीन जनाको उम्मेदवारी परेकोमा महिलाको उम्मेदवारी परेको छैन ।

संघमा चयन हुने तीन उपाध्यक्षका लागि आठ जनाको मनोनयन दर्ता भएकोमा एक जना महिलाको उम्मेदवारी परेको छ । एशोसियट समुहबाट ज्योत्सना श्रेष्ठले उम्मेदवारी दिएकी हुन् । उनी महिला उम्मेदवारको तर्फबाट सबैभन्दा माथिल्लो पदमा भिड्न उम्मेदवारी दिने पात्र हुन् । महासंघका उद्योग वाणिज्य समुह (जिल्ला नगर), वस्तुगत समुहबाट बन्ने उपाध्यमा कुनैपनि महिला आकांक्षी छैनन् । वाणिज्य समुह (जिल्ला नगर) र वस्तुगत समुहबाट चयन हुने एक।एक उपाध्यक्षका लागि ३।३ जनाको पुरुषहरुको मात्र्र उम्मेदवारी परेको हो ।

एशोसियट समुहबाट उपाध्यक्षका लागि प्रतिस्पर्धामा उत्रिएकी ज्योत्सना श्रेष्ठले भरतराज आचार्यसँग प्रतिस्पर्धामा गर्दैछिन् । अघिल्लो निर्वाचनमा श्रेष्ठ र आचार्य दुबै एसोसिएट सदस्यको रुपमा महासंघमा निर्वाचित भएका थिए । ५९ वर्षिया श्रेष्ठ पर्यटन तथा हवाई यातायात समिति तथा ४४ वर्षिया आर्चाय उद्योग समितिको अध्यक्ष भएर कार्यसम्पादन गरेका छन् । प्रदेश अन्तर्गत ७ सदस्य पदका लागि परेको १५ जनाको उम्मेदवारीमा परेकोमा एउटा पनि महिला उम्मेदवार छैनन् । यस्तै संस्थापक समुहबाट निर्वाचित हुने एक केन्द्रीय सदस्यका लागि दुई को उम्मेदवारी परेकोमा महिला छैनन् ।


यस्तै बस्तुगत तर्फबाट बन्ने १४ केन्द्रिय सदस्यमा लागि २८ जनाको उम्मेदवारी गरेको छ । यसमा शोभा ज्ञवाली, कमला श्रेष्ठ गरी २ जना महिलाको मात्र उम्मेद्वारी परेको छ । बस्तुगत तर्फबाट उम्मेद्वारी दिने ज्ञवालीले नेपाल महिला उद्यमी महासंघको प्रतिनिधित्व गर्दै उम्मेद्वारी दिएकी हुन् भने श्रेष्ठले सौन्दर्यकला व्यवसायी संघ नेपालबाट उम्मेद्वारी दिएकी हुन् ।

यस्तै उद्योग वाणिज्य महासंघबाट महासंघमा चयन हुने १८ केन्द्रीय सदस्यका लागि ३२ जनाको उम्मेदवारी परेकोमा एक जना मात्र महिला अटाएकी छिन् । यस समुहबाट कल्पना गैरेले उम्मेदवारी दिएकी हुन् । गैरेले दार्चुला उंवासंघको प्रतिनिधित्व गर्दै उम्मेद्वारी दिएकी हुन् ।

यस्तै एशोशियट तर्फ केन्द्रिय सदस्यका लागि २ जनाले उम्मेद्वारी दिएका छन् । एशोशियट तर्फबाट चयन हुने केन्द्रिय सदस्यका लागि ३० जनाले मनोनयन दर्ता गरेका छन् । यस समुहबाट राज्यलक्ष्मी महर्जन (शाक्य), जुना माथेले उम्मेद्वारी दिएका छिन् । महर्जनले मनकामना काफ्ट एण्ड क्रियसनको प्रतिनिधित्व गर्दै उम्मेद्वारी दिएकी हुन् भने जुना माथेमाले ब्लिज मिडिया प्रालीको प्रतिनिधित्व गर्दै उम्मेद्वारी दिएकी हुन् ।

महासंघको ५७ औं वार्षिक साधारण सभा तथा नेतृत्व चयनका लागि चैत २८ र २९ गते महाधिवेश हुँदैछ । नयाँ कार्यकारिणी समितिका लागि २९ गते निर्वाचन हुँदैछ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।