हिमाल आरोहणबाट तीन महिनामा ३१ करोड रोयल्टी संकलन


हिमाल आरोहणबाट पछिल्लो ३ महिनामा ३१ करोड ३४ लाख ३ हजार ५४१ रुपैयाँ रोयल्टी संकलन भएको छ ।

पर्यटन विभागले दिएको जानकारी अनुसार सन २०२३ सुरु भएयता ५१२ जना पर्यटकबाट कुल ३१ करोड ३४ लाख ३ हजार ५४१ रुपैयाँ रोयल्टी संकलन भएको हो ।

कोभिड संक्रमणका बेला सुस्ताएको हिमाल आरोहीहरुले अब भने धमाधम अनुमती लिन सुरु गरेका छन् । जसमध्ये सबैभन्दा धेरै सगरमाथा आरोहणका लागि २० आरोही समूहका झन्डै दुई सय आरोहीहरूले अनुमति लिएका छन् । सगरमाथा आरोहणबाट २७ करोड ४३ हजार ६०६ रुपैयाँ रोयल्टी भित्रिएको छ ।

पर्यटन विभागको पर्वतारोहण शाखाका अधिकृत विज्ञान कोइरालाका अनुसार सगरमाथा आरोहणका लागि २० आरोही समूहमा ३१ महिला र एक सय ६६ पुरुष गरी कूल एक सय ९७ आरोहीले अनुमति लिएका हुन् । यो ऋतुमा सगरमाथा आरोहणका लागि उल्लेख्य सङ्ख्यामा विदेशी आरोही आइरहेका छन् ।

नेपाल पर्वतारोहण सङ्घका महासचिव मोहन लम्सालले यो ऋतु सगरमाथा आरोहण गर्नेका लागि निकै उत्साहबरद्धक हुने विश्वास व्यक्त गरे । उनले भने, “सगरमाथा आरोहणमा विदेशीको आकर्षण हेर्दा उत्साहवरद्धक हुने देखिन्छ । कोभिड–१९ महामारीपूर्वको अवस्थाभन्दा पनि राम्रो हिमाल आरोहण हुने अनुमान गरिएको छ ।

यस्तै अन्नपूर्णको लागि ५ टिमका ५४ जनाले अनुमती लिएका छन् । उनीहरुबाट १ करोड ४ लाख २६ हजार ४१० रोयल्टी प्राप्त भएको छ ।
पर्यटन विभागको विवरणअनुसार चैत २६ गते आइतबारसम्म सगरमाथासहित विभिन्न हिमाल तथा चुली आरोहणका लागि ६१ आरोही समूहका ५१२ बढी आरोहीहरूले अनुमति लिएका छन् ।

त्यसमध्ये धेरै अनुमती लिने देश अमेरिका हो । अमेरिकाबाट ७६ जनाले अनुमती लिएका छन् । यस्तै भारतका ५१ जनाले र क्यानडाबाट ३० जनाले अनुमती लिएका छन् । नेपालबाट भने ३९ जनाले अनुमती लिएका छन् ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।