चन्द्र ढकालको दोस्रो केबलकार योजना सञ्चालनमा, मौलाकाली मन्दिर पाँच मिनटमै पुगिने

चन्द्र ढकालको दोस्रो केबलकार योजना सञ्चालनमा, मौलाकाली मन्दिर पाँच मिनटमै पुगिने

नेपाल उद्योग वाणिज्य महासंघको अध्यक्षको जिम्मेबारी बिहीबार देखि सम्हालेका व्यवसायी चन्द्रप्रसाद ढकालको दोस्रो केबलकार योजना सञ्चालनमा आएको छ । विगत २ वर्ष अघि निर्माण सुरु भएको मौलाकाली केबलकार शुक्रबारदेखि सञ्चालनमा आएको हो ।

यसभन्दा अघि काठमाडौको चन्द्रागिरी डाँडा केबलकार सञ्चालन गरेका ढकालले नयाँ वर्ष २०८० को सुरुआतसँगै नवलपरासी (बर्दघाट–सुस्तापूर्व) को गैँडाकोटमा दोस्रो ‘मौलाकाली केबलकार’ सञ्चालनमा ल्याएका हुन । गैँडाकोटमा रहेको ऐतिहासिक धार्मिकस्थल मौलाकालिका मन्दिर जाने यात्रुलाई लक्षित गरी निर्माण गरिएको केबलकार आजदेखि सञ्चालनमा आएको हो ।

नयाँवर्षको अवसर पारेर आजदेखि सेवा सुरु गरिएको मौलाकाली केबलकार व्यवस्थापन विभागका प्रमुख अभिषेक विक्रम शाहले जानकारी दिए । केबलकारको बटम स्टेशनबाट गैँडाकोट नगरपालिका वडा नं ६ निवासी सय वर्षीया वृद्धा सरस्वती कँडेल र टप स्टेशनबाट नवलपुरका प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद लम्सालले पहिलो यात्रुका रुपमा यात्रा गरेका हुन ।

केबलकारमार्फत मौलाकाली मन्दिरसम्म पाँच मिनेटमै पुग्न सकिनेछ । करिब दुई किलोमिटर लामो केबलकारमा १२ वटा गोन्डोला रहेका छन् । हाल केबलकारले दुइतर्फी मूल्य पाँच सय ५० रुपैयाँ कायम गरिएको शाहले जानकारी दिए ।

उनका अनुसार केबलकारले तीनदेखि चार फिटसम्मका बालबालिकाका लागि तीन सय ३०, विद्यार्थीका लागि चार सय १५, ज्येष्ठ नागरिकका लागि चार सय १५ र फरक क्षमता भएकाको लागि दुई सय ७५ रुपैयाँको टिकट दर राखिएको छ । केबलकारले ८० वर्षमाथिका वृद्धवृद्धा र तीन फिटभन्दा कमका बालबालिकाका लागि निःशुल्क सेवा दिने जनाएको छ ।

आइएमई समूहको प्रवद्र्धनमा करिब दुई वर्षअघिदेखि निर्माण सुरु गरिएको केबलकारले आजदेखि नियमित सेवा सुरु गरेको शाहले बताए । केबलकारको एउटा डब्बा (गोन्डुला)मा एक पटकमा आठ जना यात्रु चढ्न सक्ने व्यवस्था रहेको भन्दै शाहले केबलकारबाट पाँच मिनेटमा मन्दिर पुगिने बताए । “नेपालमा भित्रिएको सबैभन्दा अत्याधुनिक प्रविधियुक्त केबलकार भएकाले यात्रुहरु पूर्णरुपमा सुरक्षित रहनुहुनेछ”, उनले भने, “अहिले हामीले बिहान ६ बजेबाट केबलकार चलाउँछौँ, आवश्यकताअनुसार चौबीसै घण्टा सञ्चालन गर्न सकिन्छ ।”

केबलकारको बटम स्टेशनबाट अपर स्टेशनसम्म एक हजार दुई सय मिटर दूरीमा छवटा टावर निर्माण गरिएको शाहले बताए । यात्रु बोक्ने १२ वटा डब्बा (गोन्डुला, एउटा सामान बोक्ने तथा अर्को सर्भिसिङ डब्बा राखिएको उहाँको भनाइ छ । एउटा गोन्डुलामा एक पटकमा आठ जना यात्रु अटाउने क्षमता छ ।

आईएमई समूहको ५१ प्रतिशत र स्थानीयको ४९ प्रतिशत लगानी रहने गरी स्थापना गरिएको केबलकार गैँडाकोट–१ धारापानीबाट चढ्ने र मन्दिर नजिक ओर्लने स्टेशन राखिएको छ । माथिल्लो स्टेशनसँगै ६० कोठा रहने गरी चार तारे होटल निर्माणको काम तीव्ररुपमा अगाडि बढेको पनि शाहले जानकारी दिए । केबलकारको निर्माण अष्ट्रियन कम्पनीले गरेको हो ।

सञ्चालनको पहिलो दिननै पाँच हजारभन्दा बढी यात्रुले केबलकारको सेवा लिएका शाहको भनाइ छ । नयाँ वर्षको अवसर पारेर आजदेखि सञ्चालन गरिएको केबलकारको उद्घाटन भने केही दिनपछि हुनेछ ।

?  समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।

प्रकाशित मिति: १ बैशाख २०८०, शुक्रबार १८ : ५३ बजे