मुलुकभित्र रोजगारी नभएपछि चैतमा मात्रै ६१ हजार ४७८ नेपाली कामको खोजीमा विदेशीए

मुलुकभित्र रोजगारी नभएपछि चैतमा मात्रै ६१ हजार ४७८ नेपाली कामको खोजीमा विदेशीए

राजनैतिक नेतृत्वले मुलुकभित्र रोजगारी दिन नसक्दा वार्षिक ७ लाखभन्दा बढी नेपाली कामको खोजीका लागि नै विदेश पलायन हुने गरेका छन् ।  वैदेशिक रोजगार विभागका अनुसार चैतमा मात्रै ६१ हजार ४७८ नेपाली रोजगारीका लागि विदेशिएका हुन् । यो नयाँ श्रमस्वीकृति तथा पुनः श्रम स्वीकृति लिने समेतको संख्या हो ।

विभागका अनुसार विदेशिने संख्या चैतमा अघिल्लो महिना (फागुन) को तुलनामा भने केही कम देखिएको छ । फागुनमा ६१ हजार ८४५ जना नेपाली विदेशिएका थिए ।  चैत महिनामा फागुनमा ५६ हजार ३४३ जना पुरुष र ५ हजार १३५ जना महिला कामको खोजीमा विदेशिएका छन् ।

यस अवधिमा म्यानपावर एजेन्सी मार्फत २७ हजार ८५५ जना युवा विदेशिएका छन् । कामको खोजीमा व्यक्तिगत रुपमा विदेश जाने नयाँ कामदारको संख्या ५ हजार ९४८ (४ हजार ७६२ जना पुरुष र १ हजार १८६ जना महिला) जना छन् । यस्तै दुई देशबीच हुने सरकार–सरकारबीच हुने सम्झौता (जीटूजी) मार्फत २ हजार २२७५ (२ हजार ९५ जना पुरुष र १८० जना महिला) जना युवा विदेश गएका छन् ।

व्यक्तिगत रुपमा पुनः श्रम स्वीकृति लिनेको संख्या भने २५ हजार ४०० जना (२३ हजार ९२३ जना पुरुष र १ हजार ४७७ जना महिला) रहेको छ । गत फागुनमा ५६ हजार ७१९ जना पुरुष र ५ हजार १२६ जना महिला कामको खोजीमा विदेशिएका थिए । साे अवधिमा म्यानपावर एजेन्सी मार्फत २९ हजार २८८ जना, व्यक्तिगत रुपमा ५ हजार ५३६ जना, जीटूजी मार्फत २ हजार १७० जना तथा व्यक्तिगत रुपमा पुनः श्रम स्वीकृति लिएर २४ हजार ८५१ जना विदेशीएका थिए ।

विदेशीनेमध्ये अधिकांश ‘दक्ष’ मात्र, १४ हजार बढी अदक्ष

वैदेशिक रोजगार विभागले उपलब्ध गराएको तथ्याङ्कमध्ये ६८ प्रतिशत युवा ‘दक्ष’ योग्यताको मात्र रहेका छन् । फागुनमा विदेशीएका कुल ६१ हजार ४७८ मध्ये ४१ हजार ७२९ युवा दक्ष योग्यताका मात्र रहेका छन् । जसमा ३८ हजार ६२३ जना पुरुष र ३ हजार १०६ जना महिला रहेका छन् ।

चैतमा नेपालबाट विदेशिनेमध्ये अदक्ष युवाको संख्या १४ हजार ३५३ जना रहेका छन् । जसमा १२ हजार ७७६ जना पुरुष र १ हजार ५७७ जना महिला विदेशिएका छन् ।

दक्षभन्दा माथिल्लो स्तरको ‘अर्ध दक्ष’ योग्यता भएका ५ हजार २९३ जना युवाले श्रम स्वीकृति लिएका छन् । यस्तै व्यवसायिक (प्रोफेसनल) योग्यता हासिल गरेका ८३ र उच्च दक्षता हासिल गरेका २० जना वैदेशिक रोजगारीमा विदेशिएको तथ्यांकले देखाएको छ ।

कुन मुलुकमा कति विदेशिए ?

विभागको तथ्यांक अनुसार चैत महिनामा मलेसियाका लागि १२ हजार १२९ जनाले श्रम स्वीकृति लिएका छन् । यस्तै साउदी अरबमा ६ हजार १०४ जना, युनाइटेड अरब इमिरेट्समा ५ हजार ५५५ जना, कतारका लागि २ हजार ४९७ जना र जीटूजी सहित इपिएस मार्फत दक्षिण कोरियामा काम गर्नका लागि चैतमा २ हजार ३१० जनाले श्रम स्वीकृति लिएका छन् ।

यस्तै कुवेतका लागि १ हजार ८८४ जना, रोमानियाका लागि १ हजार ४७५ जना, जापान ६०३ जना, क्रोएशिया ५१०, पोल्याण्ड ४६९, साइप्रस ३६२ र बहराइनका लागि ३२५ जनाले श्रम स्वीकृति लिएको विभागको तथ्याङ्क छ ।

बढी कुन जिल्लाका विदेशिए ?

विभागका अनुसार चैत महिनामा झापा जिल्लाबाट सबैभन्दा धेरै १ हजार ५२५ जना, धनुषाबाट १ हजार २११, मोरङबाट १ हजार २८२, रुपन्देहीबाट १ हजार ३८, महोत्तरीबाट ९३०, सर्लाहीबाट ९७० जना, सिराहाबाट ८९२, दाङबाट ९२६ विदेशिएका छन् ।

सुनसरी ८६५, बाग्लुङ्ग ८०८, चितवन ७९५, धादिङ्गबाट ६८१, गुल्मीबाट ५०४, स्याङ्जाबाट ६४७, कास्की जिल्लाबाट ४९५ जना, भोजपुरबाट ४९२ जना र काठमाण्डौंबाट ३२८ जना विदेशिएका छन् ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।

प्रकाशित मिति: ६ बैशाख २०८०, बुधबार १६ : ५२ बजे