साओमी मोबाइल बेच्ने रमेश कर्पको कम्पनी टेली डिरेक्टको व्यापार १५% घट्यो

0
Shares

व्यापारिक घराना रमेश कर्पले माेबाइल बिक्री गर्ने कम्पनी टेली डिरेक्टको व्यापार सन् २०२२ मा घटेको छ ।

नेपालमा साओमी ब्रान्डका मोबाइल फोन तथा एसेसोरिजको आधिकारिक बिक्रेता रहेको टेली डिरेक्ट प्रालिको आम्दानी १४.८० प्रतिशतले घटेको हो । सन् २०२१ मा ८ अर्ब ४० लाख सञ्चालन आम्दानी गरेको कम्पनीले सन् २०२२ मा ६ अर्ब ८१ करोड ९० लाख सञ्चालन आम्दानी गरेको हो ।

सन् २००९ मा स्थापना भएको टेली डिरेक्टले सन् २०१९ देखि साओमी ब्रान्डका मोबाइल फोन तथा एसेसरिजहरुको बिक्री वितरण गर्दै आएको छ । पछिल्लो समयमा नेपालमा विभिन्न ब्रान्डहरुको उपस्थिति बढ्दै जाँदा साओमी ब्रान्डका मोबाइल फोनहरु ओझेलमा परेका छन् । सामसुङ, एप्पल ब्रान्डका मोबाइल फोनहरुमा मानिसहरुको आकर्षण बढ्दै गएपछि चाइनिज माेबाइल  साओमीकाे बिक्रेता टेली डिरेक्टको आम्दानी प्रभावित बनेकाे हाे ।

तथापि व्यापारिक घराना रमेश कर्प कम्पनीको प्रमोटर रहेको कारण कम्पनीलाई वित्तीय तथा प्राविधिक सहयोग मिलिरहेको छ । यस्तै कम्पनीले नेपालभर डिलरसीप बढाएको छ । ७७ जिल्लालाई समेट्ने गरी कम्पनीका देशभर ३२ वटा डिलरहरु रहेका छन् ।

कम्पनीले २ अर्ब ५० करोड बराबरको अल्पकालीन कर्जाका लागि रेटिङ गराएको छ । रेटिङ एजेन्सी इन्फोमेरिक्स नेपालले ए–३ रेटिङ गरेको छ ।

रेटिङ एजेन्सीले उपलब्ध गराएको कम्पनीको वित्तीय प्रोफइल अनुसार कम्पनीले लिएको कर्जाको ब्याज भुक्तानी गर्न सक्ने क्षमता कुल कर्जाको ३.५८ प्रतिशत रहेको छ । रमेश कर्पको उपाध्यक्ष रहेका रोहित गुप्ता टेली डिरेक्ट कम्पनी प्रालीमा अध्यक्षको जिम्मेवारीमा रहेका छन् । 

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।