स्टक एक्सचेन्ज ल्याउन ३ कम्पनी इच्छुक, कमोडिटी मार्केटका लागि ४ कम्पनीको आवेदन


नेपाल धितोपत्र बोर्डको आह्वानपछि ७ कम्पनीले धितोपत्र बजार सञ्चालन गर्न कम्पनी स्थापनाको सिफारिस माग्दै आवेदन दिएका छन् । स्टक एक्सचेन्ज सञ्चालनका लागि कम्पनी स्थापना गर्न तीन र कमोडिटी एक्सचेन्जका लागि ४ कम्पनीले बोर्डमा आवेदन दिएका हुन ।

नयाँ स्टक एक्सचेन्ज सञ्चालन गर्न कम्पनी स्थापनाको सिफारिस माग गर्दै हिमालयन स्टक, नेशनल स्टक र अन्नपुर्ण स्टकले बोर्डमा निवेदन दिएका हुन । त्यसैगरी कमोडिटी मार्केट सञ्चालनका लागि कम्पनी स्थापन गर्ने सिफारिस माग गर्दै मल्टि डेरिभेटि एक्सचेन्ज लि, मल्टि एसेट एण्ड डेरिभेटिभ लि, हिमालयन डेरिभेटिभ एण्ड एक्सचेन्ज लि र नेपाल मल्टी कमोडीटी एक्सचेन्ज लिमिटेडले कम्पनी स्थापन गर्ने सिफारी माग गर्दै बोर्डमा आवेदन दिएको हो ।

धितोपत्र बोर्डले सिफारिसका लागि आवेदन माग गरेको आइतबार अन्तिक दिन हो । शुक्रबारसम्म हिमालयन स्टकले मात्र आवेदन दिएकोमा आइतबार नेशनल र अन्नपुर्णले आवेदन दिएको धितोपत्र बोर्डका डेपुटि कार्यकारी निर्देशन तेज प्रसाद देवकोटाले जानकारी दिए ।

“आइतबारसम्म बोर्डमा ती कम्पनीले सिफारिस माग गरेका छन्,” देवकोटाले भने, “बोर्डमा आवेदन दिनेमा हिमालयन, अन्नपुर्ण र नेशनल स्टक रहेका छन् ।” कम्पनीहरुको आवेदन शिलबन्दी भएको आएको हुनाले बोर्डको सञ्चालक समितिले आवश्यक कागजात हेरेर एक कम्पनीलाई स्थापनाको सिफारिस गर्ने उनले जानकारी दिए । स्टक एक्स्चेञ्जका लागि एक कम्पनीलाइ मात्र सिफारिस गरिने भए पनि कमोडीटी एक्सचेन्जका लागि भने सो भन्दा बढी पनि सिफारी हुन सक्ने सम्भावना छ ।

यसरी आवेदन दिनेमा शंकर ग्रुपसहितका केही उद्योगी व्यवसायी एकिकृत भएर हिमालयन स्टक एक्चेन्जलाई अघि बढाएका छन भने सिद्धार्थ ग्रुप सहित केही गैर आवासीय नेपालीहरुको समेत लगानी रहने गरी नेशनल स्टक एक्चसेन्ज स्थापनाको सिफारी माग गर्दै धितोपत्र बोर्डमा आवेदन दिएका छन । त्यसैगरी नेपाल राष्ट्र बैंक तथा नेपाल स्टक एक्सचेन्ज (नेप्से)का पुर्व कर्मचारी तथा जलविद्युत व्यवसायीहरु मिलेर अन्नपुर्ण स्टक एक्सचेन्जका लागि बोर्डमा आवेदन दिएका हनु ।

धितोपत्र बोर्डले गत असोज २ गते नयाँ स्टक र धितोपत्र दलाल व्यापारीको अनुमतिपत्रका लागि निवदेन मागेको थियो । बोर्डको उक्त निर्णयविरुद्ध प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, अर्थ मन्त्रालय, नेपाल धितोपत्र बोर्ड र नेपाल स्टक एक्सचेन्ज समेतलाई विपक्षी बनाई अधिवक्ता दीपक विक्रम मिश्रले गत असोज ३१ गते सर्वोच्च अदालतमा मुद्दा दायर गरेका थिए । सर्वोच्चको चैत २६ गतेको फैसलाले खारेज गरेपछि धितोपत्र बोर्डले चैत ३० गते सूचना जारी गर्दै वैशाख १० गतेसम्म आवेदन दिइसक्न भनेको थियो ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।