रास्वपाका सभापति लामिछाने फराकिलो मतान्तरले विजयी


चितवन क्षेत्र नं–२ बाट राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने फराकिलो मतान्तरले विजयी भएका छन् । निकटतम प्रतिस्पर्धीभन्दा ४२ हजार ९६२ बढी मत ल्याएर उनी विजयी भएका हुन् ।

यो मत अघिल्लो पटकको भन्दा ४ हजार ८ सय ७६ ले बढी हो । गत मंसिरमा लामिछानेले ४९ हजार ३ सय मत ल्याएका थिए । सर्वोच्च अदालतले नागरिकता पुनरप्रप्तिका लागि कानुन बमोजिम प्रक्रिया पूरा नगरेको भन्दै उपप्रधान तथा गृहमन्त्री समेत रहेका लामिछानेको माघ १३ गते शुक्रबार पद खारेज गरेपछि पुनः निर्वाचन भएकाे थियो ।

विजयी लामिछानेले ५४ हजार १७६ मत ल्याए । उनका निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका जीतनारायण श्रेष्ठले ११ हजार २१४ मत प्राप्त गरे । यस्तै नेकपा (एमाले) का रामप्रसाद न्यौपानेले १० हजार ९३६ मत प्राप्त गरे । राप्रपाका जीवलाल पुरीले ३७५ मत प्राप्त गरे ।

चितवन क्षेत्र नं–२ मा ७८ हजार ६६४ मत खसेको थियो । जसमध्ये १ हजार १९८ बदर भई ७७ हजार ४६६ सदर भएको थियो । सो क्षेत्रमा ४३ स्थलका एक सय ३८ केन्द्रमा मतदान गरिएको हो । यस क्षेत्रमा एक लाख २४ हजार ६९५ मतदाता रहेका थिए ।

ती मध्ये ६३ हजार दुई सय ९१ महिला, ६१ हजार ४०३ पुरुष र एक तेस्रो लिङ्गी रहेका थिए । गत मङ्सिरमा सम्पन्न निर्वाचनमा समेत विजयी लामिछानेले त्यतिबेला ४९ हजार दुई सय ६४ मत प्राप्त गरेका थिए । नेपाली कांग्रेसका उमेश श्रेष्ठले १४ हजार नौ सय ८३, एमालेका कृष्णभक्त पोखरेलले १४ हजार छ सय ४७ र राप्रपाका रवीन अधिकारीले नौ सय ५५ मत प्राप्त गरेका थिए ।

गत वर्ष मङ्सिरमा सम्पन्न निर्वाचनमा ८४ हजार सात सय ५३ मत खसेको थियो । त्यसमध्ये ८३ हजार नौ सय ५६ सदर मत थियो । उक्त समयमा एक लाख २४ हजार दुई सय १५ मतदाता रहेका थिए । मङ्सिरमा १० दल र छ स्वतन्त्र उम्मेदवार चुनावी मैदानमा थिए भने यसपाली १२ दल र १० स्वतन्त्र उम्मेदवार चुनावी मैदानमा थिए । चितवन क्षेत्र नं–२ मा कालिका नगरपालिका, ईच्छाकामना गाउँपालिका र भरतपुर महानगरपालिकाका १० वडा पर्छन् ।

? समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।