निर्जीवन बीमा व्यवसाय मोटरकै भरमा, लघु, कृषि तथा बालीबीमाको अवस्था कमजोर

0
Shares

नेपाल बीमा प्राधिकरणले सार्वजनिक गरेको चालु आर्थिक वर्ष २०७९/८० को चैत महिनासम्मको तथ्याङ्क अनुसार निर्जीवन बीमा व्यवसाय मोटर बीमाकै भरमा चलेको देखिन्छ ।

सरकारले विशेष जोड दिँदै आएको लघुबीमा तथा कृषिबाली बीमाको अवस्था अन्य बीमाको तुलनामा कमजोर देखिएको छ । प्राधिकरणको विवरण अनुसार कम्पनीहरुले गरेको कुल निर्जीवन बीमा व्यवसायमा करिब ३३ प्रतिशत हिस्सा मोटर बीमा व्यवसायको छ । कम्पनीहरुले गरेको अन्य निर्जीवन बीमा व्यवसाय भन्दा मोटर बीमा व्यवसायको हिस्सा सबैभन्दा बढी छ ।

निर्जीवन बीमा कम्पनीहरुले चैतमसान्तसम्म ३० अर्ब १ करोड ४८ लाख रुपैयाँ बराबरको बीमा व्यवसाय गरेकोमा जसमा ९ अर्ब ८८ करोड ७६ लाख मोटर बीमाको हिस्सा रहेको छ । जुन कुल व्यवसायको ३२.९४ प्रतिशत हो । यस अवधिमा कुल २१ लाख ६६ हजार ३२८ बीमालेख जारी भएकोमा मोटर बीमाको मात्रै १३ लाख ८३ हजार ७१ बीमालेख जारी भएका छन् ।

सरकारले मोटर बीमालाई अनिवार्य गरेकाले पनि मोटर बीमाको हिस्सा बढी देखिएको हो । तत्कालीन बीमा समितिले मोटर बीमाको तेस्रो पक्षलाई अनिवार्य गरेको हो । मोटर खरिद गर्दा र मोटर नवीकरण गर्दा अनिवार्य रुपमा मोटर बीमा गर्नुपर्ने प्रावधान छ ।

सरकारले सबैभन्दा धेरै अनुदान दिएको बीमा क्षेत्र कृषि तथा बाली बीमाको बजार हिस्सा भने ६.०४ प्रतिशत मात्रै छ । राज्यले बीमा शुल्कमा अनुदान दिँदा पनि बीमा कम्पनीहरुले यस बापत गत चैत महिनासम्म १ अर्ब ८१ करोड ५१ लाख रूपैयाँको मात्र बीमा गरेका छन् । यसअवधिसम्म कम्पनीहरुले १ लाख ३५ हजार ४३ वटा बीमालेख जारी गरेका छन् ।

पछिल्लो समयमा सरकारले लघुबीमालाई जोड दिँदै आएपनि यसको बजार खासै फस्टाउन सकेको छैन् । चैतमसान्तसम्म लघु बीमाको बजार हिस्सा जम्मा ०.१८ प्रतिशत छ । यसअवधिमा बीमा कम्पनीहरुले ३० हजार २६४ वटा लघुबीमा लेख जारी गरी ५ करोड ६७ लाख ९१ हजार मात्र बीमाशुल्क संकलन गरेका छन् । लघुबीमाको अवस्था मधेश प्रदेशमा सबैभन्दा नाजुक देखिएको छ ।

मोटर बीमापछि कम्पनीहरुले गरेको व्यवसायको अधिक हिस्सा सम्पति बीमाको छ। समीक्षा अवधिमा कम्पनीहरुले ६ अर्ब ६८ करोड १७ लाख रुपैयाँ बराबरको सम्पति बीमा गरेका छन् । सम्पति बीमालाई पनि सरकारले अनिवार्य गरेको छ।

यस अवधिमा कम्पनीहरुले ३ लाख ७० हजार ४७४ वटा सम्पत्ति बीमालेख जारी गरेका छन् । बैंक तथा वित्तीय संस्थाबाट कर्जा लिएर घर खरिद गर्दा अनिवार्य रुपमा कर्जाको बीमा हुनुपर्ने वित्तीय संस्थाको प्रावधान छ । फलस्वरुप कम्पनीहरुले गरेको व्यवसायमध्ये सम्पति बीमाको हिस्सा अधिक देखिएको हो । सम्पत्ति बीमाको हिस्सा २२.२६ प्रतिशत छ ।

त्यस्तै, कम्पनीहरुले ५ अर्ब २६ करोड २६ लाख रुपैयाँ बराबरको इन्जिनियरिङ्ग बीमा व्यवसाय गरेका छन् । यो व्यवसायको हिस्सा कुल व्यवसायको १७.५३ प्रतिशत छ । पछिल्लो समयमा प्राधिकरणले इन्जिनियरिङ्ग बीमालाई पनि अनिवार्य गरेको छ । कुनै पनि परियोजना सुरु गर्नुअघि ठेकेदार कम्पनीले अनिवार्य रुपमा बीमा गर्नुपर्ने प्रावधान छ ।

त्यस्तै, कम्पनीहरुले १ अर्ब ५४ करोड ४२ लाख रुपैयाँ बराबरको सामुन्द्रिक बीमा गरेका छन् भने १ अर्ब ५० करोड ६४ लाख रुपैयाँ बराबरको हवाई बीमा गरेका छन् । त्यस्तै, ३ अर्ब २६ करोड लाख रुपैयाँ बराबरको विविध बीमा गरेका छन् ।

निर्जीवन बीमा कम्पनीहरुले चालु आवको चैतमसान्तसम्म २१ लाख ६६ हजार ३२८ बीमालेख जारी गरेर कुल ३० अर्ब १ करोड ४८ लाख बीमाशुल्क संकलन गरेका छन् । जुन गत आर्थिक वर्षको सोही अवधिको भन्दा २ अर्ब २२ करोड मात्र बढी हो ।

निर्जीवन बीमा कम्पनीहरुले गत वर्ष तेस्रो त्रैमाससम्म २८ अर्ब ७० करोड ११ लाख रुपियाँ बीमाशुल्क आर्जन गरेका थिए ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।

प्रकाशित मिति: १२ वैशाख २०८०, मंगलबार  १६ : २२ बजे