आइपीओ जारी गर्ने तयारीमा रहेकोे आइएमईको सञ्चालन आम्दानी ९६ करोड

0
Shares

आइपीओ निष्काशनको तयारीमा रहेको आइएमई लिमिटेडले सन् २०२२ मा ९६ करोड ८० लाख बराबरको सञ्चालन आम्दानी गरेको छ ।

सन् २०२१ मा ७९ करोड ४० लाख सञ्चालन आम्दानी गरेको कम्पनीको आयमा २१.९ प्रतिशतको वृद्धि हुँदा कम्पनीको आम्दानी बढेर ९६ करोड ८० लाख पुगेको हो । कम्पनीको सञ्चालन आम्दानीमा वृद्धि भएसँगै अनय वित्तीय सूचांकमा समेत सकरात्मक सुधार आएको हो ।

कम्पनीको ह्रासकट्टी, अर्मोटाइजेसन, ब्याज, कर र भाडा सहितको नाफा सन् २०२२मा कुल सञ्चालन आम्दानीको ५०.७ प्रतिशत रहेको छ । जुन सन् २०२१मा ४९.२ प्रतिशत थियो ।

आइएमई ग्रुपले सन् २००१ मा स्थापना गरेको आइएमई लिमिटेड नेपालको शीर्ष रेमिट्यान्स कम्पनी हो । नेपालमा भित्रिने ९० प्रतिशत रेमिट्यान्स खाडी मुलुकबाट आउने गरेको छ । कम्पनीले नेपाल बाहिर २० मनी ट्रान्सफर अप्रेटरसँग सम्झौता गरी कार्य सम्पादन गर्दै आएको छ । हाल आइएमईका १० हजार बढी सक्रिय एजेन्ट रहेका छन् ।

नेपालबाट दिनानुक्रममा विदेशीने युवाहरुको सङ्ख्या बढ्दै छ । युवाहरुले नेपाल रकम पठाउनका लागि प्रयोग गर्ने माध्यम रेमिट्यान्स हो । त्यसकारण आगामी समयमा कम्पनीको आम्दानी अझ बढ्ने देखिन्छ ।

यस्तै आइएमीई ग्रुप नै आइएमई लिमिटेडको प्रमोटर रहेको छ । ग्रुपको लगानी रहेको ग्लोबल आइएमीई बैंक मार्फत आन्तरिक रेमिट्यान्स पठाउनेहरुको सङ्ख्या समेत धेरै छ । जसकारण कम्पनीको वित्तीय अवस्था राम्रो रहेको छ । कम्पनीका अध्यक्ष चन्द्र प्रसाद ढकाल हुन् भने हेमराज ढकाल प्रबन्ध निर्देशक रहेका छन् ।

कम्पनीलाई रेटिङ एजेन्सी इक्रा नेपालले ए रेटिङ गरेको छ । ए रेटिङ पाएका कम्पनीहरुको वित्तीय अवस्था बलियो छ भन्ने बुझ्न सकिन्छ ।

कम्पनीले १ अर्ब रुपैयाँ बराबर पुँजीको १० प्रतिशत हुन आउने १० लाख कित्ता सेयर सर्वसाधारणका लागि जारी गर्नेछ ।

? समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।