इमान्दार र पारदर्शी भएर काम गर्न भन्सार कर्मचारीलाई अर्थमन्त्रीको निर्देशन

0
Shares

अर्थमन्त्री डा. प्रकाशशरण महतले भन्सारका कर्मचारीलाई इमान्दारिताका साथ पारदर्शी भएर काम गर्न निर्देशन दिएका छन।

आज विराटनगर पुगेका उनले विराटनगर भन्सार कार्यालयको निरीक्षणपछि भने,’तपाईँहरु राज्यको राजस्व सङ्कलन जस्तो संवेदनशील सेवामा हुनुहुन्छ । कुनै पनि तहमा माथि देखाएर आफ्नो जिम्मेवारीको दुरुपयोग गर्ने अथवा अनुचित काम गर्ने छुट कसैलाई छैन । भन्सार चुहावट गर्ने प्रवृत्तिलाई हामी क्षमा दिँदैनौँ, मलाई विश्वास छ यहाँहरुले राम्रो गर्न कोसिस गरिराख्नु भएको छ र आगामी दिनमा झन् राम्रो गर्नुहुनेछ ।’

मन्त्री डा महतले कर्मचारीको मूल्याङ्कन कामका आधारमा हुने पनि स्पष्ट गरे । उनको भनाइ थियो– कर्मचारीले आफ्नो जिम्मेवारी इमान्दारिताका साथ पारदर्शी रुपमा पूरा गर्नुहुनेछ ।

उनले यो आर्थिक वर्षको असारसम्ममा भन्सार असुलीको प्रतिशत निकै बढ्ने आफूले अपेक्षा गरेको पनि बताए । तर राजस्व बढाउने नाममा करदातालाई अनावश्यक दुःख नदिन पनि उनले निर्देशन दिए ।

मन्त्री डा. महतले भने,“समग्रमा हामी पारदर्शीताका साथ काम गरौँ, सेवाग्राहीलाई सहज र सौहादपूर्ण वातावरण निर्माण गरौँ, नियम कानुन अनुसार काम गरौँ हामीले गर्नुपर्ने काममा सम्झौता नगरौं ।”

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।