राष्ट्र बैंकद्धारा साढे ४६ अर्बको विदेशी ऋण स्वीकृत, ४२ उद्योगमा ५८ अर्ब लगानी

0
Shares

नेपाल राष्ट्र बैंकले पछिल्लो ११ महिनामा साढे ४६ अर्बको विदेशी ऋण भित्र्याउन अनुमती दिएको छ । केन्द्रीय बैंकले सो अवधिमा ३० कम्पनीलाई कुल ४६ अर्ब ६८ करोड रुपैयाँ विदेशी ऋण ल्याउन अनुमती दिएको हो ।

नेपाल राष्ट्र बैंक विदेशी लगानी तथा विदेशी ऋण व्यवस्थापन विनियमावली, २०७८ पछि सेयर स्वामित्व परिवर्तन भई हुने बाहेकका विदेशी लगानीको हकमा केन्द्रीय बैंकको पूर्व स्वीकृति लिन अनिवार्य नहुने व्यवस्था गरिएको छ ।

सो अनुसार राष्ट्र बैंकलाई पूर्व जानकारी मात्र गराएर विदेशी लगानी बापतको विदेशी मुद्रा भित्र्याउने व्यवस्था छ । २०७९ वैशाखदेखि फागुनसम्म ८३ वटा लिखित जानकारीबाट २८ अर्ब ४२ करोड १६ लाख बराबरको स्वीकृत विदेशी लगानी बैंकिङ प्रणाली मार्फत नेपाल भित्र्याउने जानकारी केन्द्रीय बैंकमा आएको छ ।

त्यसैगरी गत वर्षको ११ महिनामा सेयर स्वामित्व परिवर्तन मार्फत हुने विदेशी लगानी बापत कुल २६ वटा नेपाली उद्योग/कम्पनीलाई चार अर्ब ७९ करोड ७१ लाख बराबरको विदेशी मुद्रा नेपाल भित्र्याउन स्वीकृति प्रदान भएको केन्द्रीय बैंकले जनाएको छ ।

सो अवधिमा ६१ वटा नेपाली उद्योग/कम्पनीमा भएको ११ अर्ब ८० करोड ६० लाख बराबरको विदेशी लगानी लेखाङ्कन गरिएको समेत केन्द्रीय बैंकले जनाएको छ ।

केन्द्रीय बैंकका अनुसार कुल ४२ वटा नेपाली उद्योग/कम्पनीमा भएको ५८ अर्ब २५ करोड १३ लाख बराबरको विदेशी ऋण लेखाङ्कन भएको छ । पछिल्लो ११ महिनामा कुल ३० वटा नेपाली उद्योग/कम्पनीलाई ४६ अर्ब ६८ करोड चार लाख बराबरको विदेशी ऋण भित्र्याउने केन्द्रीय बैंकले अनुमती दिएको छ ।

राष्ट्र बैंकका अनुसार गत बैंशाख देखि फागुनसम्ममा कुल १८९ वटा विदेशी मुद्राको सटही स्वीकृति मार्फत २५ अर्ब ७९ करोड ७४ लाख बराबरको रकमको लागि विदेशी लगानीको लाभांस फिर्ता भएको देखिन्छ । त्यसका साथै उक्त रकममा विदेशी ऋणसँग सम्बन्धित साँवा तथा ब्याज रकम फिर्ता गर्न अनुमती दिएको राष्ट्र बैंकले जनाएको छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।