लाइसेन्स खारेज भएको स्मार्ट टेलिकमलाई पूर्वाधार संरचना हस्तान्तरण गर्न निर्देशन

0
Shares

नेपाल दूरसञ्चार प्राधिकरणले स्मार्ट टेलिकमको लाइसेन्स खारेज भएको सूचना प्रकाशित गर्दै दूरसञ्चार पूर्वाधार संरचना, प्रणाली र संजाल चालु अवस्थामा प्राधिकरणलाई हस्तान्तरण गर्न निर्देशन दिएको छ ।

प्राधिकरणले बुधबार एक सूचना जारी गदै स्मार्टको अनुमाति पत्र स्वत खारेज भएको जनाएको छ । स्मार्ट टेलिकमले नवीकरणको २१ अर्ब ८६ करोड र त्यसको १५ प्रतिशत जरिवाना नबुझाएपछि लाइसेन्स खारेज भएको हो।

प्राधिकरणले सूचनामा भनेको छ ‘नेपाल दूरसञ्चार प्राधिकरणबाट आधारभूत टेलिफोन सेवाको अनुमतिपत्र प्राप्त संस्था स्मार्ट टेलिकम प्रालि कुमारीपाटी, ललितपुरले अनुमतिपत्र (अनुमतिपत्र नं बिटिएसएल ०१) नविकरणका लागि नियमानुसार दस्तुर दाखिला गरी निवेदन पेश नगरेकोले उक्त अनुमतिपत्र दूरसञ्चार ऐन, २०५३ को दफा २५(५) बमोजिम स्वतः खारेज भएको व्यहोरा सम्बन्धीत सबैको जानकारीको लागि यो सूचना प्रकाशित गरिएको छ’ ।

साथै अनुमतिपत्र बहाल नरहेका दूरसञ्चार सेवा प्रदायकको सम्पत्ति व्यवस्थापन नियमावली, २०७९ को नियम ९ को उपनियम (१) बमोजिम दूरसञ्चार पूर्वाधार संरचना, दूरसञ्चार प्रणाली र दूरसञ्चार संजाल चालु अवस्थामा प्राधिकरणलाई हस्तान्तरण गर्न समेत अनुरोध गरेको छ।

नेपाल दूरसञ्चार प्राधिकरणले स्मार्ट टेलिकमको इजाजतपत्र (लाइसेन्स) स्वतः खारेज भएपछि गत वैशाख ४ गते बसेको प्राधिकरण सञ्चालक समितिको बैठकले स्मार्ट टेलिकमको सम्पत्ति व्यवस्थापन प्रक्रिया अगाडि बढाउने निर्णय गरेकोे थियो।

प्राधिकरणले स्मार्ट टेलिकमलाई बक्यौता रकम भुक्तानी गर्न वैशाख ३ गते सम्मको समय दिएको थियो । उक्त समयसम्म नवीकरणका लागि स्मार्ट टेलिकमले कुनै पनि प्रक्रिया नगरेपछि लाइसेन्स स्वतः खारेज गर्ने निर्णय भएको थियो।

प्राधिकरणले यसअघि नै सम्पत्ति व्यवस्थापन नियमावली जारी गरिसकेको छ । अब स्मार्ट टेलिकमको भ्यालुएसन गरी सरकारले बिक्री गर्नेछ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।