सेयर बजारमा सुधार नहुँदा झनै खुम्चियो कारोबार

0
Shares

सेयर बजारमा सुधार नहुँदा कारोबार रकम समेत दैनिक खुम्चिदै गएको छ । पछिल्लो पाँच कारोबार दिन लगातार घटेको नेप्सेमा बुधबार ६२ करोडको मात्र कारोबार भयो ।

बजारले सुधारको संकेत नगर्दा लगानीकर्ताहरु पर्ख र हेरको अवस्थामा रहेका छन । जसले गर्दा कारोबारमा समेत शिथिलता आएको छ । पछिल्लो १३ कारोबार दिनमा नेप्सेमा एक अर्ब मुनिको कारोबार हुँदै आएको छ । बजार बढ्ने संकेत नपाउँदा सेयर खरिद बिक्रीमा समेत कमी आएकाले कारोबार रकम दैनिक खुम्चदै गएको हो ।

बुधबार नेप्से परिसूचक ९.१८ अंकले घटेको छ । कारोबार सुरु भएदेखि ओरालो लागेको नेप्से परिसूचक ०.४९ प्रतिशतको गिरावटसँगै १८५७ अंकमा आएर रोकिएको छ ।

आज ६२ करोड २ लाख ६६ हजार रुपैयाँ बराबरको २१ लाख ५५ हजार कित्ता सेयर किनबेच भएको छ । यो अघिल्लो दिनको तुलनामा ७ करोड कम हो ।
आज ५१ वटा कम्पनीको सेयर मूल्य भने बढेको छ । यसबाहेक १५६ वटा कम्पनीको सेयर मूल्य घट्दा १२ कम्पनीको सेयर मूल्य भने स्थिर कायम छ ।

कारोबार आएकामध्ये २ वटा समूहमा बाहेक सबै समूहमा गिरावट आएको छ । आज उत्पादनमूलक र म्यूचुअल फण्ड समूहबाहेक सबै समूहमा गिरावट आएको हो । बैंकिङ १.९, विकास बैंक ८, फाइनान्स १२.२, होटल तथा पर्यटन ५२, जलविद्युत् २९, जीवन बीमा ५९, माइक्रोफाइनान्स २१, निर्जीवन बीमा १४, अन्य १४ र व्यापार उपसमूह ३ अंक घटे ।

आज आत्मनिर्भर लघुवित्त वित्तीय संस्थाको सेयर मूल्यमा ६.०९ प्रतिशतको र स्वेतगंगा हाइड्रोपावर एण्ड कन्सट्रक्सनको सेयर मूल्य ५.६६ प्रतिशतले बढेको छ । यस्तै,आज एनआईएमबीएल ग्रोथ फण्डको सेयर मूल्य ५.३५ प्रतिशतले घटेको छ ।

आज सबैभन्दा धेरै सेयर कारोबार सिवम सिमेन्टको भएको छ । यो कम्पनीको ३ करोड ५० लाख रुपैयाँ बराबरको सेयर किनबेच भएको छ । कारोबार रकमका आधारमा हिमालयन डिस्टिलरी, हिमाल दोलखा हाइड्रो, कुमारी बैंक र नबिल बैंक अगाडि रहेका छन।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।