बीमाको पहुँचमा साढे ४४ प्रतिशत जनसंख्या, वैदेशीक रोजगार बीमा ७१ % ले बढ्यो

0
Shares

बीमाको पहुँच तथा दायरा क्रमिक रुपमा बढ्दै गएको छ । हालसम्म कुल जनसंख्याको साढे ४४ प्रतिशतभन्दा बढी नागरिकमा बीमाको पहुँच पुगेको छ ।

बीमा प्राधिकरणले प्रकाशन गरेको चालु आवको चैत मसान्तसम्मको तथ्यांक अनुसार कुल जनसंख्याको ४४.५५ प्रतिशत नागरिकमा बीमाको पहुँच पुगेको हो । म्यादी, लघु र वैदेशिक रोजगार बीमालेख समेत गरी बीमाको पहुँच साढे ४४ प्रतिशत बढी नाघेको प्राधिकरणले जनाएको छ ।राष्ट्रिय जनगणना २०७८ का अनुसार नेपालको जनसंख्या २ करोड ९१ लाख ६४ हजार ५७८ जना रहेका छन् । प्राधिकरणका अनुसार चैत मसान्तसम्ममा कुल १ करोड २९ लाख ९३ हजारमा बीमाको पहुँच पुगेको हो ।

बीमा क्षेत्रको नियामक निकाय बीमा प्राधिकरणका अनुसार सरकारी योजना, प्राधिकरण, बीमा कम्पनी तथा सम्बद्ध पक्षको प्रयासमा बीमाको पहुँच वृद्धि भएको हो। प्राधिकरणका अनुसार यसमा म्यादी, लघु र वैदेशिक रोजगार बीमालेख समेत समावेश गरिएको छ । प्राधिकरणबाट भएका नीतिगत एवम् कानूनी सुधारबाट आगामी दिनमा बीमाको दायरा अझै बढ्ने अपेक्षा गरिएको छ । दायरा तथा पहुँच बिस्तारसँगै बीमा व्यवसाय विकसित, व्यवस्थित, अनुशासित र विस्तारित हुँदै गएको प्राधिकरणको भनाई छ ।

प्राधिकरणका अनुसार वैदेशिक म्यादी, लघु र वैदेशिक रोजगार बीमा बाहेक बीमाको पहुँचमा भने १७.४३ प्रतिशत जनसंख्या रहेको छ । राष्ट्रिय जनगणना २०७८ को जनसंख्यालाई आधार मान्दा वैदेशिक म्यादी, लघु र वैदेशिक रोजगार बीमा बाहेक ५० लाख ८३ हजारमा पहुँच पुगेको छ । यस्तै वैदेशिक रोजगार बाहेक म्यादी, लघु सहित भने बीमाको पहुँचमा ३९.७४ प्रतिशत जनसंख्यामा पहुँच पुगेको छ । जसअनुसार १ करोड १५ लाख ९० हजार जनामा वैदेशीक रोजगार बाहेक म्यादी, लघु सहित भने बीमाको पहुँच पुगेको देखिन्छ ।

प्राधिकरणका अनुसार गत आवको यसै अवधिको तुलनामा म्यादी, लघु र वैदेशिक रोजगार बीमा बाहेकको बीमालेखको संख्या १७.०७ प्रतिशतले बढेको छ । विसं २०७८ चैतमा ४७ लाख ६० हजार ३०९ वटा बीमालेख बिक्री भएकोमा २०७९ चैतमा आइपुग्दा बढेर ५५ लाख ७२ हजार ५२ वटा पुगेको हो । त्यस्तै म्यादी र लघु बीमाको संख्या १५.४७ प्रतिशतले बढ्दा वैदेशीक रोजगार बीमाको सख्या ७१.१२ प्रतिशतले बढेको छ । विसं २०७८ चैतमा ८ लाख ५२ हजार ८२७ वटा बीमालेख बिक्री भएकोमा २०७९ चैतमा आइपुग्दा बढेर १४ लाख ५९ हजार ३१५ वटा पुगेको हो । यस अवधिमा कुल बीमालेखको संख्या २०.१४ प्रतिशतले बढ्दा निर्जीवन बीमाको संख्या भने ०.४२ प्रतिशतले घटेको छ । जीवन बीमाशुल्क संकलन २.१४ प्रतिशतले बढेकोमा निर्जीवन बीमाशुल्क संकलन ४.५८ प्रतिशतले बढेको छ ।

विसं २०७८ चैतमा कुल जीवन बीमालेखको संख्या १ करोड १७ लाख ९१ हजार ६९८ वटा जारी भएकोमा २०७९ चैतमा आइपुग्दा २३ लाख ७४ हजार ३०० वटाले बढेर १ करोड ४१ लाख ६५ हजार ९९८ वटा पुगेको हो । उता निर्जीवन बीमालेखको संख्या भने विसं २०७८ चैतमा २१ लाख ७५ हजार ४१४ वटा रहेकोमा २०७९ चैतमा आइपुग्दा ९ हजार ८६ वटाले घटेर २१ लाख ६६ हजार ३२८ वटामा झरेको छ ।

विसं २०७९ चैतसम्म जीवन बीमा कम्पनीहरुले कुल १ खर्ब ४ अर्ब ७३ करोड ४८ लाख २१ हजार पुगेको छ भने निर्जीवन बीमाशुल्क कुल ३० अर्ब १ करोड ४८ लाख ४० हजार रहेको छ । २०७८ चैतको तुलनामा जीवन बीमा कम्पनीहरुले संकलन गरेको कुल बीमाशुल्क २ अर्ब १९ करोड ४६ लाख ७९ हजार रुपैयाँ र निर्जीवन बीमा कम्पनीहरुले संकलन गरेको बीमाशुल्क १ अर्ब ३१ करोड ३६ लाख ७४ हजार रुपैयाँले धेरै हो ।

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।