राष्ट्रिय बीमा कम्पनीले बोलायो चार वर्षपछि ६ आर्थिक वर्षको साधारण सभा

0
Shares

राष्ट्रिय बीमा कम्पनीले ४ वर्षपछि साधारण सभा आह्वान गरेको छ । यसअघि २०७५ असोज १९ गते ३० औं साधारण सभा गरेको कम्पनीले लामो समय लेखापरीक्षण गर्न नसकेपछि साधारण सभा गर्न सकेको थिएन ।

संस्थागत सुशासनमा कमजोर रहेको सरकारी स्वामित्वको राष्ट्रिय बीमा कम्पनीलाई अर्थ मन्त्रालयले ती कम्पनीका प्रमुख कार्यकारी अधिकृतहरुलाई बैठकमा बोलाएर समयसीमा तोकेर नै लेखापरीक्षण सकाउन दबाबमुलक निर्देशन दिएको थियो । सो निर्देशनका कारण नै बल्ल राष्ट्रिय बीमा कम्पनीले लेखापरीक्षण सकिएको ६ आर्थिक वर्षको साधारण सभा गर्ने बाटोमा पुगेको हो । कम्पनीको सञ्चालक समितिको बैशाख २१ गते बसेको बैठकले चार वर्षपछि एकैदिन ६ आर्थिक वर्षको साधारण सभा आह्वान गरेको हो । सभा आगामी जेठ ३१ गते बुधबार काठमाडौंमा सभा बोलाएको छ ।

तत्कालीन उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले एक दशक अघिदेखि लेखा परीक्षण हुन नसक्नु चिन्ताको विषय भएको बताउँदै २०७९ माघ १६ देखि तीन महिनाको समय दिएर राष्ट्रिय बीमा संस्थान र राष्ट्रिय बीमा कम्पनी लिमिटेडलाई निर्देशन दिएका थिए । उनले अर्थमन्त्रालय राजस्व सचिव डा. रामप्रसाद घिमिरे, नेपाल बीमा प्राधिकरणका अध्यक्ष सूर्यप्रसाद सिलवाल, राष्ट्रिय बीमा संस्थानका प्रमुख प्रशासक कविराज पाठक, राष्ट्रिय बीमा कम्पनी लिमिटेडका प्रमुख कार्यकारी अधिकृत शेखर बराललाई राखेर तोकिएको समयमा लेखापरीक्षण सक्न निर्देशन दिएका थिए ।

सेयधनीलाई कुनैपनि लाभांश वितरण गर्न नसकेको यस कम्पनीले सभा मार्फत राष्ट्रिय बीमा कम्पनी (साबिकको राष्ट्रिय बीमा संस्थान, निर्जीवन बीमा विभाग)को तीन आर्थिक वर्षहरु (आर्थिक वर्ष २०६८/६९, २०६९/७० र २०७०/७१) तथा राष्ट्रिय बीमा कम्पनी लिमिटेडको तीन आर्थिक वर्षहरु (आर्थिक वर्ष २०७०/७१, २०७१/७२ र २०७२/७३ सम्म) को वार्षिक प्रतिवेदन उपर छलफल गरी पारित गर्ने छ ।

यसैगरी कम्पनीले माथि उल्लेखित ६ वटै आर्थिक वर्षहरुको लेखापरीक्षकको प्रतिवेदन सहितको असार मसान्तको वासलात, सोही मितिमा समाप्त नाफा-नोक्सान हिसाब तथा नगद प्रवाह विवरण र सोही अवधिको वित्तीय विवरणसँग सम्बन्धित अनुसूचीहरू माथि छलफल गरी पारित गर्ने छ ।
साथै सभाले महालेखापरीक्षक कार्यालयको परामर्श बमोजिम सञ्चालक समितिबाट नियुक्त लेखापरीक्षककी आर्थिक वर्ष २०६८/६९ देखि २०७२/७३ सम्मको नियुक्ति एवम पारिश्रमिक अनुमोदन गर्ने छ ।

सभाको विशेष प्रस्ताव अन्तर्गत सञ्चालकहरुको आर्थिक वर्ष २०७२।७३ सम्मको भत्ता एवं सुविधाहरु अनुमोदन गर्ने र सोलाई निरन्तरता दिने तथा सर्वसाधारण सेयरधनीहरुको तर्फबाट एक जना सञ्चालक चयनका लागि निर्वाचन गर्ने रहेको छ ।

राष्ट्रिय बीमा कम्पनीले साधारण सभा प्रयोजनको लागि जेठ १६ गते मंगलबार एक दिन बुकक्लोक गर्ने भएको छ । बुकक्लोक अनुसार जेठ १५ गतेसम्म नेप्सेमा सेयर कारोबार भई कायम रहने सेयरधनीहरुले मात्र साधारण सभामा भाग लिन पाउने छन् ।

राष्ट्रिय बीमा संस्थान र राष्ट्रिय बीमा कम्पनी लिमिटेडको अझै आर्थिक वर्ष २०७३/७४ देखि लेखा परीक्षण हुन बाँकी छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।