विश्व अर्थव्यवस्थामा उत्पन्न असहजताका बाबजुद नेपाल समग्र आर्थिक स्थायित्व कायम गर्न सफल: गभर्नर

0
Shares

नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारी २०८० वैशाख १९ देखि २० गतेसम्म पाकिस्तानको इस्लामाबादमा आयोजित ४३ औं सार्क फाइनान्स गभर्नरर्स मिटिङ एण्ड सिम्पोजिम्समा सभागि भएका थिए ।

कार्यक्रमको पहिलो दिन आयोजित ४३ औं सार्क फाइनान्स गभर्नरर्स मिटिङमा गभर्नर अधिकारीले विश्व अर्थव्यवस्थामा उत्पन्न असहजताले निम्त्याएको चुनौतीका बाबजुद नेपाल समग्र आर्थिक स्थायित्व कायम गर्न सफल भएको उल्लेख गर्दै मुलुकको आगामी आर्थिक परिदृश्यबारे चर्चा गरेका थिए । सो अवसरमा उनले नेपालको वित्तीय क्षेत्र सबल रहेको र पछिल्लो समयमा तरलता तथा ब्याजदरमा देखिएको असहजता विस्तारै कम हुँदै गएको बताए ।

उक्त बैठकमा माल्दिभ्स, पाकिस्तान र श्रीलङ्काका केन्द्रीय बैंकका गभर्नरहरूले कोभिड सङ्कटका साथै रुस–युक्रेन युद्धबाट सिर्जित भू–राजनीतिक तनावका कारण मूल्य र बाह्य क्षेत्रमा देखिएको चुनौती तथा त्यसको समाधानका लागि अवलम्वन गरिएका उपाय र आगामी आर्थिक परिदृश्यका सन्दर्भमा चर्चा गरेका थिए । बैठकमा सार्क क्षेत्रका केन्द्रीय बैंकहरूको सहकार्यमा भइरहेको प्रगति तथा आगामी दिनमा हुनुपर्ने सहकार्य लगायतका एजेण्डामा छलफल भएको थियो ।

दोस्रो सत्रमा बैंकका उप–निर्देशक सिद्धराज भट्टले नेपाल राष्ट्र बैंकको नेतृत्वमा सम्पन्न ‘प्रोस्पेक्ट अफ सेन्ट्ररल बैंक डिजिटल करेन्सी इन द सार्क रिजन’ विषयक अध्ययनको नतिजा प्रस्तुत गरेका थिए । सो अवसरमा स्टेट बैंक अफ पाकिस्तानका निर्देशक डा। एम फारुक अर्बेले उक्त बैंकको नेतृत्वमा सम्पन्न ‘द युज अफ अनकन्भिन्सनल पोलिसी इन्ट्रुमेन्ट वाइ साउथ एशियन सेन्ट्रल बैंक विषयक अध्ययनको नतिजा प्रस्तुत गरेका थिए ।

कार्यक्रमको दोस्रो दिन आयोजना गरिएको ‘क्लाइमेट चेन्ज एण्ड ग्रिन फाइनान्सिङः इनिसेटिभ एण्ड ग्रिन फाइनान्सिङ इन नेपालमा बैंकका निर्देशक नारायणप्रसाद पोख्रेलले ‘क्लाइमेट चेन्ज एण्ड ग्रिन फाइनान्सिङ नेपाल’ विषयक कार्यपत्र प्रस्तुत गरेका थिए । उक्त बैठकमा अन्य सार्क मुलुकका प्रतिनिधिले समेत आ–आफ्नो कार्यपत्र प्रस्तुत गरेका थिए । बैठकमा सहभागी भई गभर्नर अधिकारी बिहिबार स्वदेश फर्केका हुन् ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।