सिटी होटलको आइपीओ सर्वसाधारणका लागि बिक्री खुला


सिटी होटल लिमिटेडको आइपीओमा आज सोमबारदेखि सर्वसाधारणले आवेदन दिन सक्ने छन् । कम्पनीले पहिलो चरणमा वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि आइपीओ निष्काशन गरेको थियो ।

उक्त आइपीओ बाँडफाँड गरिसके पछि दोस्रो चरणमा सर्वसाधारणका लागि आइपीओ निष्काशन गरेका हो । कम्पनीले आफ्नो जारी पूँजीको १० प्रतिशत अर्थात १६ करोड ७४ लाख रुपैयाँ बराबरको प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यका १६ लाख ७४ हजार कित्ता सेयर सार्वजनिक निष्काशनका लागि छुट्याएको थियो ।

सोमध्ये ८३ हजार ७०० कित्ता सेयर सामूहिक लगानी कोष र ६६ हजार ९६० कित्ता सेयर कर्मचारीहरुका लागि छुट्याइएको छ भने १ लाख ६७ हजार ४०० कित्ता सेयर नेपाल सरकारको सम्बन्धित निकायबाट श्रम स्वीकृति प्राप्त गरी विदेशमा रोजगारीमा रहेका नेपाली नागरिकहरुका लागि निष्काशन गरी बाडँफाँड गरिसकेको छ ।

सर्वसाधारण लगानीकर्ताले बाँकी रहेको १३ लाख ५५ हजार ९४० कित्ता सेयरमा आवेदन दिन सक्ने छन् । उक्त आइपीओमा सर्वसाधारणले न्युनतम १० कित्तादेखि अधिकतम २ हजार कित्तासम्मका लागी आवेदन दिन पाउने छन् । उक्त आईपीओमा बैशाख २८ गतेसम्म आवेदन दिन सकिनेछ । सो अवधिसम्ममा पूर्ण आवेदन नपरेमा निष्काशन अवधि जेठ ८ गतेसम्म लम्बिनेछ ।

उक्त आइपीओमा इच्छुक आवेदकले नेपाल धितोपत्र बोर्डबाट स्वीकृती प्राप्त गरेका सम्पूर्ण सि आस्बा सदस्य बैंक तथा वित्तीय संस्थाहरु र तिनका तोकिएका शाखा कार्यालयहरुबाट आवेदन दिन सक्नेछन् । रेटिङ एजेन्सी केयर नेपालले सिटी होटलको आइपीओलाई ‘केयरएनपी डबल बी प्लस इस्यूअर रेटिङ’ प्रदान गरेको छ । जसले कम्पनीको दायित्व बहन गर्ने क्षमतामा औषत जोखिम रहेको जनाउँछ । उक्त आइपीओको बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटल रहेको छ ।

कम्पनीमा बारेमा

सिटी होटलमा गोल्यान ग्रुपको लगानी रहेको छ । व्यापारिक घराना गोल्यान ग्रुप नै प्रमोटर रहँदा होटल सञ्चालनका लागि आवश्यक पर्ने वित्तीय तथा प्राविधिक सहयोग कम्पनीले पाएको छ । होटलका अध्यक्ष शक्ति कुमार गोल्यान रहेका छन् भने प्रबन्ध निर्देशक अध्यक्ष गोल्यान हुन् ।

सिटी होटलले हायात इन्टरनेशनल–साउथ इस्ट एशियासँग होटल म्यानेजमेन्ट एग्रीमेन्ट गरेको छ । जसकारण सिटी होटल ‘होटल हायात प्यालेस’ ब्रान्डनामबाट सञ्चालनमा रहेको छ ।

सन् २०२१ को नोभेम्बर महिनादेखि होटल सञ्चालनमा आएको छ । १५३ कोठाको उक्त होटलमा एफ एन्ड बी सर्भिस, स्पा, कन्फेरेन्स हल, क्यासिनो लगायतका विभिन्न सुविधाहरु उपलब्ध छन् । होटल हायात प्यालेश त्रिभुवन अन्तराष्ट्रिय एयरपोर्टदेखि ९ किलोमिटरको दूरीमा रहेको छ । होटलले प्रदान गर्ने विभिन्न सुविधाका कारण पछिल्लो समय कर्पोरेट बैठकका लागि पनि आकर्षणको केन्द्र बन्दै आएको छ ।
३ अर्ब २५ करोड ६५ लाख ९० हजार बराबरको दीर्घकालीन तथा अल्पकालीन कर्जाका लागि कम्पनीले रेटिङ गराएको छ ।

३ अर्ब १७ करोड ६२ लाख ९० हजार बराबरको दीर्घकालीन कर्जाका लागि रेटिङ एजेन्सी केयर नेपालले डबल बी प्लस रेटिङ गरेको छ । यस्तै ८ करोड ३ लाख बराबरको अल्पकालीन कर्जाका लागि ए४ प्लस रेटिङ गरेको छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।