बुटवलमा डेढ अर्ब लागतमा पाँच तारे होटल सार्फोन सीके निर्माण हुँदै

0
Shares

होटल सार्फोन सीके प्रालिले बुटवलमा पाँच तारे होटल निर्माण गरिरहेको छ । सन् २०२३ को मार्च महिनासम्म होटल निर्माणको ६१ प्रतिशत वित्तीय प्रगति भइसकेको छ ।

पाँच हजार ७ सय ४६ वर्ग मिटरमा निर्माण हुन लागेको उक्त होटल सन् २०८१ को वैशाख महिनाबाट सञ्चालनमा आउने आकलन गरिएको छ । गौतम बुद्ध अन्तराष्ट्रिय विमानस्थलबाट २४ किलो मिटरको दूरीमा निर्माण हुँदै गरेको उक्त होटल आन्तरिक तथा बाह्य पर्यटकको आकर्षणको केन्द्र हुने निर्माण कम्पनीले जनाएको छ ।

सन् २०२१ को नोभेम्बर महिनादेखि होटल निर्माणका लागि जग्गा अधिग्रहण गर्ने र होटल निर्माण गर्ने कार्य सुरु भएको थियो । हालसम्म होटलको भौतिक निर्माण कार्य ६५ प्रतिशत समाप्त भएको छ ।

एक अर्ब ४५ करोड ६० लाख बराबरको लागतमा निर्माण हुँदै गरेको उक्त होटलमा लगानीकर्ताहरुको ४९ करोड लगानी रहेको छ भने प्रमोटरहरुले ६७ करोड लगानी गरेका छन् । यसका साथै ९६ करोड ६० लाख बराबरको कर्जा कम्पनीले लिएको छ । कर्जा र लगानीकर्ताहरुको लगानीको अनुपात ६६ः३४ रहेको छ ।

लगानीकर्ताको लगानी भन्दा धेरै कर्जामा आधारित परियोजना भएको कारण होटल निर्माण हुन्छ वा हुँदैन भन्नेमा नै प्रश्न उठेको छ । तथापि अनुभवि प्रमोटर र अध्यक्ष भएका कारण होटलले दीर्घकालीन समयमा राम्रो प्रगति गर्ने आशा गरिएको छ । कम्पनीका अध्यक्ष चुन्ना प्रसाद शर्मा हुन् । शर्मा यशोदा फुड्स प्रालिका अध्यक्ष पनि हुन् ।

निर्माणाधीन होटलमा रेष्टुरेन्ट, स्वीमिङ पुल, कन्फेरेन्स हल, स्पा र अन्य सुविधाहरु उपलब्ध छन् । होटलमा कुल १०७ कोठा हुनेछन् ।

कम्पनीले ९५ करोड ६९ लाख ५० हजार बराबरको दीर्घकालीन तथा अल्पकालीन कर्जाका लागि रेटिङ गराएको छ ।

रेटिङ एजेन्सी केयर नेपालले ९० करोड ५९ लाख ५० हजार बराबरको दीर्घकालीन कर्जाका लागि डबल बी माइन्स र ५ करोड १० लाख बराबरको अल्पकालीन कर्जाका लागि ए४ रेटिङ गरेको छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।