एमडीएमएस प्रणाली लागू, दर्ता नभएका फोन आजदेखि नचल्ने

0
Shares

आजदेखि मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडीएमएस) पूर्ण रुपमा कार्यान्वयनमा आएको छ ।

बैशाख २६ को मन्त्रिपरिषद् बैठकले एमडीएमएस प्रणाली कार्यान्वयनमा ल्याउने निर्णय गरेसँगै नेपाल दूरसञ्चार प्राधिकरणले यसअघि पटक पटक लागू गर्न खोजिपछि गर्दै आएको एमडीएमएस प्रणाली आज जेठ १ गतेदेखि भने कार्यान्वयनमा ल्याएको हो ।

यसअघि गत पुस १५ गतेदेखि प्राधिकरणले अवैध फोन नियन्त्रण गर्ने प्रविधि एमडिएमएस लागू गर्ने तयारी गरेको थियो । प्राधिकरणले उक्त सिष्टम लागू गर्ने तयारी गरेकामा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को निर्देशनमा तत्कालका लागि उक्त काम रोकिएको थियो ।

दूरसञ्चार प्राधिकरणले अवैध फोन नियन्त्रण गर्ने उदेश्य सहित एमडीएमएस लागू गरेको हो । सोही व्यवस्थाअनुसार एमडीएमएस प्रणाली कार्यान्वयनमा आएसँगै आजदेखि नेपाल भित्रने सबै मोबाइल सेट एमडीएमएस प्रणालीमा दर्ता गर्नुपर्ने हुन्छ । प्रणालीमा दर्ता नगरिएका मोबाइलमा चल्नेछैनन् अर्थात त्यस्ता सेटमा नेटवर्क प्राप्त हुनेछैनन् ।

भन्सार विभागले एक सूचना जारी गर्दै श्रम स्वीकृति लिएर वैदेशिक रोजगारीमा गएका नेपालीहरुले ६ महिना पूरा भएकाले दुईवटा मोबाइल फोन ल्याउन पाउने तथा अन्य प्रयोजनले बाहिर गएर आउनेले एउटा मात्रै मोबाइल फोन ल्याउन पाउनेछन् ।

विभागका निर्देशक पुण्यविक्रम खड्काले श्रम स्वीकृति लिएर वैदेशिक रोजगारीमा गएका नेपालीले एउटा चलाइरहेको र एउटा ‘सिलप्याक’ वा दुवै चलाइरहेको मोबाइल ल्याउन पाउने बताए। उनका अनुसार अध्ययन तथा अन्य प्रयोजनका लागि विदेशिएका नेपालीले भने एक थानमात्रै फोन ल्याउन पाउनेछन् । 

‘श्रम स्वीकृति लिएर वैदेशिक रोजगारमा गई लगातार कम्तीमा ६ महिनासम्म काम गरी फर्केका नेपाली नागरिकले महसुल सुविधामा ल्याउन पाउने थप एक थान मोबाइल फोनको भन्सार कार्यालयमा घोषणा गरी भन्सार प्रक्रिया पूरा गर्नुपर्छ’, जारी सूचनामा भनिएको छ, ‘अन्य प्रयोजनका लागि विदेशीएका नेपालीले एक थान मोबाइल फोन सेटको घोषणा भने भन्सार कार्यालयमा गर्नुपर्दैन।’

यात्रुहरुले आफ्नो साथमा ल्याउन र लैजान पाउने निजी प्रयोगका मालवस्तुसम्बन्धी आदेश, २०७७ मा विदेशबाट फर्कने यात्रुले आफूले प्रयोग गरिरहेको मोबाइल फोन थान एक महसुल नतिरी ल्याउन पाउने व्यवस्था रहेको छ ।

विदेशबाट ल्याइएका मोबाइल सेट सम्बन्धित व्यक्ति स्वयंले नेपाल दूरसञ्चार प्राधिकरणको एमडीएमएसमा दर्ता गर्न राहदानी वा नागरिताका साथै आगमन र प्रस्थान छाप देखिने राहदानीको पृष्ठ वा बोर्डिङ पास पेस गर्नुपर्ने प्राधिकरणले जनाएको छ । नेपालभित्र मोबाइल खरिद गर्दा उक्त मोबाइल एमडीएमएसमा दर्ता भए–नभएको यकिन गरेर मात्र खरिद गर्न प्राधिकरणले प्रयोगकर्तालाई अनुरोध गरेको छ । मोबाइल आयातकर्ता तथा बिक्रेताले भने मोबाइल आयात गर्नुअघि अनिवार्य रुपमा प्राधिकरणको पूर्वस्वीकृति लिनुपर्छ । प्राधिकरणमा दर्ता भएका मोबाइल मात्रै बिक्रीवितरण गर्न नियामकले निर्देशन दिइएको छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।