मौद्रिक नीतिको समीक्षामा होटल सम्बन्धी व्यवस्थाको ‘हान’ द्धारा स्वागत

0
Shares

होटल संघ नेपाल (हान) ले मौद्रिक नीतिको समीक्षा मार्फत समस्याग्रस्त होटल क्षेत्रलाई कर्जा व्यवस्थापनमा राहत दिने व्यवस्थाको स्वागत गरेको छ ।

होटल क्षेत्रको कर्जालाई २०८० असार मसान्तसम्म पुनरसंरचना र पुनस्तालिकीकरण गर्न पाउने घोषित नीतिको लागि संघले राष्ट्र बैंकलाई धन्यवाद ज्ञापन गरेको छ।

संघको काठमाडौमा सम्पन्न कार्यकारिणी परिषद् बैठकले मौद्रिक नीतिको समीक्षामा गरिएका प्रावधानहरु स्पष्ट र सरल ढंगमा छिटोभन्दा छिटो लागू गर्न कार्यविधि र निर्देशिका बैंक तथा वित्तीय संस्थाहरुलाई परिपत्र गरिनुपर्ने माग गर्दै घोषित नीति र निर्देशन सम्बन्धित बैंक तथा वित्तीय संस्थाहरुबाट हुबहु कार्यान्वयन हुन पनि माग गरेको छ ।

संघले यस अघि भएका यस्तै समीक्षामा घोषित नीति तथा निर्देशनहरु लागू गर्न कार्यविधि र निर्देशिका जारी गर्न ढिलाई तथा बैंक तथा वित्तीय संस्थाहरुका सम्बन्धित सञ्चालक समितिहरुबाट समेतको निर्णय देखाएर फरक र ढिलो गर्ने व्यवहार प्रति ध्यान आकृष्ट गर्दै होटल संघ नेपालले यस विषयमा बैंकर्स संघसंग नजिकबाट सहकार्य गर्नुपर्ने आवश्यकता औल्याएको छ ।

एकल अंकको व्याजदरप्रति होटल संघ नेपालले गर्दै आएको माग र आगामी आर्थिक वर्षको सरकारी नीति तथा कार्यक्रम, राष्ट्रिय बजेट, वित्तीय एवं मौद्रिक नीतिमा यस क्षेत्रको सुधार तथा विकासका लागि होटललाई राष्ट्रिय प्राथमिकताप्राप्त उद्योगको मान्यताका साथै पर्यटन तथा होटल क्षेत्रको विकासका लागि राष्ट्रिय कार्यनीति सहितको व्यवसायमैत्री ठूला प्रकृतिका प्रबर्द्धनात्मक कार्यक्रम लगायत कोभिडपछि क्रमशः उत्थान हुँदै आएको होटल तथा पर्यटन क्षेत्रलाई विशेष प्राथमिकतामा राखेर बजेट तथा कार्यक्रम आवश्यक रहेको होटल संघ नेपालले जनाएको छ ।

नवनिर्वाचित अध्यक्ष विनायक शाहको सभापतित्वमा सम्पन्न संघको कार्यकारिणी परिषद्को बैठकमा पदाधिकारीहरु र देशैभरिबाट प्रतिनिधित्व गर्नुहुने कार्यसमिति सदस्यहरुले होटल संघ नेपालको आगामी वार्षिक नीति, बजेट तथा कार्यक्रम पारित गर्नुका अतिरिक्त समसामयिक विषयमा निर्णयसहित महिला तथा युवा होटल उद्यमीलगायतका ९ विभिन्न उपसमितिहरु गठन र दायित्व निर्धारण गरेको छ । बैठकले आगामी जनवरीमा नेपाल आतिथ्य दिवस (Nepal Hospitality Day) आयोजना गर्ने पनि निर्णय गरेको छ ।

बैठकले संघको उन्नति प्रगतिका लागि योगदान दिए वापत निवर्तमान अध्यक्ष सृजना राणाको विशेष सम्मान गरी संघको मासिक मुखपत्र विमोचन गराएको छ । संघले आतिथ्य तथा उद्योग वाणिज्य क्षेत्रका लब्ध प्रतिष्ठित दुई व्यक्तित्व शशिकान्त अग्रवाल र रविभक्त श्रेष्ठलाई संघको मानार्थ सदस्यता प्रदान गरेको छ ।

बैठकले पूर्व कार्यसमिति सदस्य घनश्याम श्रेष्ठको संयोजकत्वमा होटल संघ नेपाल बागमती प्रदेश तदर्थ समिति पनि गठन गरेको छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।