इन्टरनेटको शूल्क आफूखुसी नबढाउन दूरसञ्चार प्राधिकरणको निर्देशन


नेपाल दूरसञ्चार प्राधिकरणले इन्टरनेटको शूल्क आफूखुसी नबढाउन निर्देशन दिएको छ । इन्टरनेट सेवाको महशुलदर बढाएको भनि गुनासो आउन थालेकोले प्राधिकरणले सूचना जारी गर्दै यस विषयमा गम्भीर ध्यानाकर्षण भएको जनाएको हो ।

यस्तै प्रधिकरणले कतिपय इन्टरनेट प्रदायक कम्पनीहरुले प्राधिकरणको निर्देशन भन्दै इन्टरनेटको महशुल बढाएको भन्दै उपभोक्त्तामा भ्रम नफैलाउन निर्देशन दिएको हो ।

सेवा प्रदायकहरूले मिलेमतोमा आफूखुसी इन्टरनेट सेवाको शुल्क र महसुल दर बढाउनु दूरसञ्चार ऐन, २०५३ र प्रतिस्पर्धा प्रवर्द्धन तथा बजार संरक्षण ऐन, २०६३ विपरित हुने प्राधिकरणले जनाएको छ ।

‘प्राधिकरणबाट कुनै पनि इन्टरनेट सेवाप्रदायकले स्वीकृत शुल्क भन्दा बढी लिने गरी अनुमति प्रदान नगरिएको तथा इन्टरनेट सेवाको विद्यमान् स्वीकृत शुल्क भन्दा बढी शुल्क लिने गरी प्राधिकरणले हालसम्म कुनै पनि सूचना जारी नगरिएको र शुल्क बढाउन इन्टरनेट सेवा प्रदायकहरुलाई कुनै पनि निर्देशन नदिएको हुँदा प्रस्तुत विषयमा स्पस्ट हुन सम्बन्धित लाइ जानकारी गराइन्छ ।’ प्राधिकरणद्वार सूचनामा उल्लेख छ ।

यस्तै प्राधिकरणले उपभोक्ताहरुलाई स्वीकृत महशुलदर भन्दा बढी शुल्क लिने गरी बिल जारी गरिएको भए प्राधिकरणलाई जानकारी उपलब्ध गराउन पनि सर्वसाधारणमा अपिल गरेको छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।