ओम्नी ग्रुपद्धारा सञ्चालित ओबीसीआईको आम्दानीमा गिरावट

0
Shares

ओम्नी ग्रुपको लगानी रहेको ओबीसीआईको आम्दानी गत वर्षको तुलनामा ३१ प्रतिशतले घटेको छ ।

सन् २०२१ मा ३० करोड ७० लाख सञ्चालन आम्दानी गरेको कम्पनीले सन् २०२२ मा २१ करोड २० लाख आम्दानी गरेको छ । सन् २०२१ को तुलनामा कम्पनीको आम्दानी ९ करोड ५० लाखले घटेको हो ।

सन् २००६ मा स्थापना भएको ओबीसीआईले नेपालमा सूचना प्रविधि क्षेत्र सम्बन्धित सामाग्रीहरुको बिक्री वितरण गरी सेवा प्रदान गर्दै आएको छ । यस्तै कम्पनीले जेनेरेटर, ब्याट्री, युपिएस र मेडिकल इक्युपमेन्टको बिक्री वितरण गर्दै आएको छ ।

कोभिड–१९को समयमा कम्पनीले मेडिकल इक्युपमेन्टको बिक्री गरी राम्रो आम्दानी गरेको थियो । सन् २०२० मा कम्पनीको सञ्चालन आम्दानी १ अर्ब २५ करोड ९० लाख थियो भने उक्त आम्दानी सन् २०२१ मा ९५ करोड २० लाखले घटेको हो । 

कम्पनीले राष्ट्रिय स्तरमा नेपालका विभिन्न सरकारी स्कुलहरुमा सूचना प्रविधि (आइटी) ल्याब स्थापना गर्ने, भोटर कार्ड बनाउने, भोटर आइडी कार्ड निर्माण गर्ने लगायतका विभिन्न कामहरु गर्दै आएको छ । 

कम्पनीमा ओम्नी ग्रुप अफ कम्पनीजको लगानी रहेको छ भने तुल बहादुर सिङ हरि कम्पनीका अध्यक्ष रहेका छन् ।

कम्पनीले ६० करोड १ लाख ३० हजार बराबरको दीर्घकालीन तथा अल्पकालीन कर्जाका लागि रेटिङ गराएको छ ।

रेटिङ एजेन्सी केयर नेपालले १२ लाख २० हजार बराबरको दीर्घकालीन कर्जाका लागि बी माइन्स र ५९ करोड ८९ लाख १० हजार बराबरको अल्पकालीन कर्जाका लागि ए४ रेटिङ गरेको छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।