जयश्री फुड्सको वार्षिक कारोबार ३ अर्ब, १ अर्ब कर्जाका लागि ए३ रेटिङ

0
Shares

“भान्साघर”, “मङ्गलम” ब्रान्डको चामल, चिउरा तथा सोयाबिन उत्पादन गर्दै आएको जयश्री फुड्सले सन् २०२२ मा २ अर्ब ९८ करोड ९० लाख सञ्चालन आम्दानी गरेको छ ।

सन् २०२१ मा २ अर्ब ८२ करोड ५० लाख सञ्चालन आम्दानी गरेको कम्पनीको आम्दानी सन् २०२२ मा ५.८ प्रतिशतले बढेको छ । कम्पनीको सञ्चालन आम्दानीमा भएको सामान्य वृद्धिसँगै कम्पनीका अन्य वित्तीय सूचांकमा पनि सामान्य सकरात्मक परिवर्तन आएको छ ।

कम्पनीले सन् २०२२ मा ह्रासकट्टी, डिप्रिसियसन, ब्याज, कर र भाडा सहितको नाफा कुल सञ्चालन आम्दानीको ५.७६ प्रतिशत गरेको छ । जुन सन् २०२१ मा कुल सञ्चालन आम्दानीको ५.२६ प्रतिशत थियो ।

सन् २००९ मा स्थापना भएको कम्पनी नवलपरासी जिल्लाको गैंडाकोटमा अवस्थित छ । कम्पनीले धानको प्रशोधन गरी चामल, चिउरा उत्पादन गर्दै आएको छ भने नेपाली भान्सामा तरकारीका रुपमा प्रयोग हुने सोयाबिनको समेत उत्पादन गर्दै आएको छ ।

कम्पनीले १ अर्ब बराबरको अल्पकालीन कर्जाका लागि रेटिङ गराएको छ । रेटिङ एजेन्सी केयर नेपालले १ अर्ब बराबरको अल्पकालीन कर्जाका लागि ए३ रेटिङ गरेको छ ।

कम्पनीको वित्तीय विवरण अनुसार कम्पनीले लिएको ऋणको ब्याज भुक्तानी गर्न सक्ने क्षमता कुल कर्जाको ३.१४ गुणा रहेको छ ।

कम्पनीमा पवन कुमार अग्रवाल र सुमन अग्रवालको लगानी रहेको छ । खाद्य प्रशोधन तथा व्यापार क्षेत्रमा लामो समय अनुभव लिएका पवन कुमार अग्रवाल कम्पनीका प्रबन्ध निर्देशक रहेका छन् ।

? समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।

प्रकाशित मिति: १० जेठ २०८०, बुधबार  १३ : ०२ बजे