पाइप तथा फिटिङ्स उत्पादक मार्भल टेक्नोप्लास्टको ६ महिनाको आम्दानी ७५ करोड

0
Shares

नेपालमा पिभीसी, सीपिभिसी र एचडीपीई पाइप तथा फिटिङ्स उत्पादन तथा बिक्री वितरण गर्दै आएको मार्भल टेक्नोप्लास्टले चालु आर्थिक वर्षको ६ महिनामा ७५ करोड ३२ लाख अपरिष्कृत सञ्चालन आम्दानी गरेको छ ।

कम्पनीले गत आर्थिक वर्षमा २ अर्ब ४ करोड २२ लाख परिष्कृत सञ्चालन आम्दानी गरेको थियो । गत आवको ६ महिनाको तुलनामा चालु आर्थिक वर्षको सोही अवधिमा कम्पनीले गरेको आम्दानीमा गिरावट आएको छ ।

सन् २०११ मा स्थापना भएको मारबल टेक्नोप्लास्टले पाइप उत्पादन, पाइप फिटिङ, पल्बिङ, बोरवोयल, ड्रेनेज, कृषि क्षेत्रमा काम गर्दै आएको छ । कम्पनीले मार्बल ब्रान्डनामबाट पिभीसी, सीपिभिसी र एचडीपीई पाइपको उत्पादन तथा बिक्री वितरण गर्दै आएको छ ।

पाइप फिटिङ निर्माण व्यवसायसँग सम्बन्धित छ । पछिल्लो समयमा निर्माण क्षेत्रमा छाएको मन्दीबीच कम्पनीको पाइप फिटिङसको काम रोक्किँदा आम्दानी घटेको छ ।

सन् २०२२ मा कम्पनीले दश ठूला ग्राहकबाट ७७ प्रतिशत र अन्य दुई ग्राहकबाट २३ प्रतिशत आम्दानी गरेको थियो । यसरी ठूला ग्राहकमा कम्पनीको आम्दानी निर्भर हुँदा आगामी समयमा कम्पनीको आम्दानीमा प्रभाव पर्ने देखिन्छ ।

कम्पनीमा आशा अग्रवाल र सन्दिप कुमार सन्चेतीको लगानी रहेको छ । आशा अग्रवालको ५८ प्रतिशत र ४० प्रतिशत सन्दिप कुमार सन्चेतीको लगानी छ भने बाँकी २ प्रतिशत पनि अग्रवाल परिवारकै रहको छ ।

कम्पनीले ९० करोड बराबरको दीर्घकालीन तथा अल्पकालीन कर्जाका लागि कम्पनीले रेटिङ गरेको छ । रेटिङ एजेन्सी इक्रा नेपालले २४ करोड ७० लाख बराबरको दीर्घकालीन कर्जाका लागि ट्रिपल बी र ६५ करोड ३० लाख बराबरको अल्पकालीन कर्जाका लागि ए३ प्लस रेटिङ गरेको छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।

 

प्रकाशित मिति: १० जेठ २०८०, बुधबार  १९ : ०१ बजे