जर्मनी आर्थिक मन्दीमा, ५ प्रतिशतले सरकारी खर्च कटौती

0
Shares

विश्वको चौथो ठूलो अर्थतन्त्र जर्मनी आर्थिक मन्दीमा गएको छ ।

सन् २०२२ को चौथो त्रैमासमा जर्मनीको आर्थिक वृद्धि दर ०.५ प्रतिशत र सन् २०२३ को पहिलो त्रैमासमा ०.३ प्रतिशतले वृद्धि दर खुम्चिएको छ । लगातार दुई त्रैमासमा आर्थिक वृद्धि दर खुम्चिएपछि जर्मनको तथ्यांक कार्यालयले देश मन्दीमा गएको जनाएको छ ।

पेट्रोलियम पदार्थ तथा खाद्यान्नको मूल्यवृद्धिका कारण जर्मनीको मूल्यवृद्धि दर आकाशिएको छ । मूल्यवृद्धि नियन्त्रण गर्न युरोपियन केन्द्रीय बैंकले शून्य प्रतिशतबाट ब्याजदर वृद्धि गरी हाल ३.२५ प्रतिशत कायम गरेको छ ।

युरोपियन केन्द्रीय बैंकले बयाजदर बढाउँदा व्यवसायीहरुले ऋण लिएर लगानी गर्न बन्द गरेका छन् । यस्तै जर्मनीले रुसी कच्चा तेलको व्यापारमा प्रतिबन्ध लगाउँदा पेट्रोलियम पदार्थको मूल्य उच्च रहेको छ । जसकारण उपभोक्ताको क्रय शक्ति समेत घटेको छ ।

जर्मनको तथ्यांक कार्यालयले सार्वजनिक गरेको तथ्यांक अनुसार जर्मनका नागरिकहरुले घरेलु प्रयोजनका लागि गर्ने खर्चमा पघिल्लो ३ महिनामा १.२ प्रतिशतको गिरावट आएको छ । यस्तै सरकारी खर्च ४.९ प्रतिशतले घटेको छ ।

उच्च मूल्यवृद्धिका कारण जर्मनी उपभोक्ताको उपभोग क्षमतामा भारी ह्रास आएको र सोही कारण जर्मनको अर्थतन्त्र खुम्चिएको डेका बैंकका विश्लेषक एन्ड्रीयस स्चेउर्लेले बताए ।

आर्थिक मन्दी अर्थतन्त्रको एक सामान्य चक्र हो । लगातार दुई त्रैमाससम्म आर्थिक वृद्धि दर खुम्चिनुलाई आर्थिक मन्दी भनिन्छ।

तथापि वर्तमान परिदृश्यमा विश्व अर्थतन्त्र नै संकट उन्मुख भएको अवस्थामा अधिकांश विकसीत मुलुक मन्दीको चपेटामा परेका छन् । जसकारण जर्मनमा आर्थिक मन्दी कायम नै रहन्छ वा रहँदैन भनेर एकीन गर्न नसक्ने विश्लेषकहरुको भनाइ रहेको छ ।

? समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।