डिजेलको भाउ २० रुपैयाँ घट्दा गाडी भाडा २ रुपैयाँ मात्रै घट्यो


काठमाण्डौं उपत्यका भित्र सञ्चालन हुने सार्वजनिक गाडीको भाडा दर २ रुपैयाँ घटेको छ । वाग्मती प्रदेशअन्तर्गत श्रम रोजगार तथा यातायात मन्त्रालयले डिजेलको भाउ घटेको भन्दै सार्वजनिक गाडीको भाडादर घटाएको हो ।

मन्त्रालयका अनुसार सार्वजनिक गाडीको भाडा २ रुपैयाँले मात्र घाटाएको छ । यद्यपी नेपाल आयल निगमले डिजेलको भाउ दुई पटक गरेर २० रुपैयाँ घटाइसकेको छ ।

निगमले गत चैत २० गते १० रुपैयाँ र बैशाख ३ गते १० रुपैयाँ गरी २० रुपैयाँ डिजेलको भाउ घटाएको थियो । घटेको मूल्यअनुसार हाल डिजेलको मूल्य लिटरको एक सय ५५ रुपैयाँ रहेको छ ।

पेट्रोलियम पदार्थको मूल्यवृद्धि भएसँगै २०७९ साउन ५ गतेदेखि भाडादर बढाइएको थियो । बढेको भाडाअनुसार यात्रुले काठमाण्डौं उपत्यकामा सार्वजनिक गाडीमा चढ्ने बित्तिकै २० रुपैयाँ तिर्दै आएका थिए । अब भने यात्रुले गाडी चढ्ने बित्तिकै १८ रुपैयाँ तिर्नुपर्ने भएको छ । यस्तै यात्रुले १० किलोमिटरसम्म यात्रा गर्दा २५ रुपैयाँ, १५ किलोमिटरसम्म यात्रा गर्दा ३० रुपैयाँ, २० किलोमिटरसम्म यात्रा गर्दा ३३ रुपैयाँ र सो भन्दा माथि यात्रा गर्दा ३८ रुपैयाँ भाडा तिर्नुपर्ने छ ।

मन्त्रालयले घटाएको भाडादर राजपत्रमा प्रकाशित भएको छ । काठमाण्डौं उपत्यकाभित्र पाँच दशमलव नौ प्रतिशत, उपत्यका बाहिर छोटो दूरीका सार्वजनिक सवारीमा चार दशमलव १८ प्रतिशत र मालवाहक सवारीसाधनमा पाँच दशमलव ६९ प्रतिशतले भाडा घटाएको मन्त्रालयका सचिव अस्मान तामाङले बताए ।

उनले भने, “नयाँ भाडादर राजपत्रमा प्रकाशित भइसकेकाले आजदेखि नै घटेको भाडादर लागू हुने छ ।” यसअघि डिजेलको भाउ बढेको बेला लामो दूरीको गाडी भाडा बढेर छोटो दूरीको नबढेपछि व्यवसायी आफैँले भाडादर तोकेका थिए ।

नेपाल आयल निगमले अघिल्लो हप्ता बुधबारदेखि लागू हुने गरी डिजेलको भाउ घटाएको थियो । लगत्तै सरकारले लामो दूरीको भाडा समायोजना गरेको थियो । लामो दूरी अर्थात् अन्तर प्रदेशको भाडा केन्द्र सरकारबाट र छोटो दूरी अर्थात् अन्तरपालिकाको भाडा प्रदेश सरकारबाट निर्धारण हुने गर्दछ ।

मन्त्रालयले प्रदेश भाडा निर्धारण\सामायोजन तथा विद्युतीय भाडा भुक्तानी नियमावली,२०७८ को नियम ६ को उप नियम (२) दिएको अधिकार प्रयोग गर्दै उपत्यकाभित्र सञ्चालन हुने सवारी साधनको भाडादरमा ४.१८ प्रतिशतले घटाएको हो । पेट्रोलियम पदार्थको भाउ ५ प्रतिशत वा सो भन्दा बढी वा घटी भएमा सोही अनुसार भाडादर निर्धारण गर्नुपर्ने व्यवस्था छ ।

? समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।