उनन्तिस अर्बको ट्रेजरी बिल जारी गर्दै राष्ट्र बैंक

0
Shares

नेपाल राष्ट्र बैंकले आज (जेठ १४ गते) २९ अर्ब १३ करोड रुपैयाँको ट्रेजरी बिलको बोलकबोल गर्ने भएको छ ।

सरकारलाई आवश्यक पर्ने आन्तरिक ऋण जुटाउने प्रयोजनका लागि आज बोलकबोल गर्न लागिएको हो । सोमबार गणतन्त्र दिवसको सार्वजनिक विदा रहेकाले आइतबार नै उक्त ट्रेजरी बिलको बोलकबोल गर्न लागेको हो ।

केन्द्रीय बैंकले ४ अर्ब रुपैयाँको २८ दिने, ७ अर्ब १३ करोड रुपैयाँको ९१ दिने, ६ अर्ब रुपैयाँको १८२ दिने र १२ अर्ब रुपैयाँ बराबरको ३६४ दिने ट्रेजरी बिलको बोलकबोल गर्न लागेको हो । जेठ १६ गते मंगलबार जारी हुने ट्रेजरी बिलमध्ये ४ अर्ब रुपैयाँ बराबरको नयाँ रहेको छ भने २५ अर्ब १३ करोड रुपैयाँ बराबरको नवीकरण रहेको छ ।

राष्ट्र बैंकले जारी गर्ने ट्रेजरी बिल क्रमशः असार १२ गते, भदौ १२ गते, मंसिर १२ गते २०८१ जेठ १५ गते परिपक्व हुनेछन् ।

ट्रेजरी बिलको खरिदका लागि आइतबार कार्यालय समय अर्थात दिउँसो ३ बजेसम्म अनलाइनका माध्यमबाट बोलकबोलमा सहभागि हुन सकिनेछ । बोलकबोलमा सर्वसाधारण नागरिकदेखि सबै वर्गका बैंक तथा वित्तीय संस्था, संगठित संस्था सहभागी हुन सक्नेछन् ।

बोलकबोलमा सबैभन्दा बढी मूूल्य तोक्ने संस्थालाई पहिलो प्राथमिकतामा राखी क्रमैसँग आह्वान रकमसम्म ट्रेजरी बिलको बाँडफाँड हुनेछ ।
ट्रेजरी बिल १ वर्ष वा १ वर्षभन्दा कम अवधिको आन्तरिक ऋण उठाउन प्रयोग गरिने अल्पकालीन सरकारी ऋणपत्र हो ।

यसअघि यही जेठ ८ गते पनि केन्द्रीय बैंकले ३४ अर्ब २० करोड रुपैयाँ बराबरको ट्रेजरी बिलको बोलकबोल प्रक्रियामार्फत बिक्री गरेको थियो । केन्द्रीय बैंकका अनुसार हाल ट्रेजरी बिलको अल्पकालीन ब्याज सात दशमलव ९१ प्रतिशत बराबर रहेको छ । यस्तै तीन सय ६४ दिनको ब्याज भने आठ दशमलव ८० प्रतिशत बराबर छ । अन्तरबैंक ब्याजदर भने सात प्रतिशत बराबर छ ।

? समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।