बजेटले वनस्पति घ्यू तेल उत्पादक निराश, भन्सार महशुल संशोधनको माग

0
Shares

गत सोमबार अर्थमन्त्री प्रकाश शरण महतले सार्वजनिक गरेको बजेटले वनस्पति तेल उत्पादक उद्योगी, व्यवसायीहरु निराश भएका छन् ।

मुलुक आर्थिक मन्दीबाट ग्रसित भएको समयमा सरकारले नयाँ बजेटमा गरेको व्यवस्थाले वनस्पति तेल उत्पादनमा आवद्ध उद्योगहरु धरासायी अवस्थामा पुगेको व्यवसायीहरुको भनाइ छ ।

यस अघिको व्यवस्थामा भन्सार महशुल १ प्रतिशत थियो भने आर्थिक वर्ष २०८०/८१ को बजेटले सो व्यवस्थालाई खारेज गरी भन्सार दर १० प्रतिशत कायम गरेको छ । जसबाट कच्चा पदार्थ आयात गरी नेपालमा वनस्पति तेल तथा घ्यू उत्पादक उद्योगीहरु निराश भएका छन् । आन्तरिक तथा बाह्य झड्काको सामना गरिरहेको समयमा सरकारले भन्सार महशुल वृद्धि गर्दा उद्योगहरु बन्द हुने अवस्थामा पुगेको उनीहरुको गुनासो छ ।

हाल नेपालमा २६ वटा स्वदेशी वनस्पत्ति घ्यूतेल उद्योगहरुको सञ्चालनमा रहेका छन् । जुन २५ वर्ष देखि सञ्चालनमा छन् । प्रत्यक्ष, अप्रत्यक्ष रुपमा ती उद्योगहरुमा १०० अर्ब लगानी रहेको छ । प्रत्यक्ष तथा अप्रत्यक्ष रुपमा १ लाख ५० हजार मानिसहरुलाई वनस्पति तथा तेल उद्योगहरुले सिर्जना गरेका छन् । वार्षिक रुपमा यी उद्योगहरुले १ अर्ब बढी राजस्व संकलनमा योगदान गर्दै आएका छन् । यस्तै नेपाली वस्तुको निर्यात बढाउनुमा समेत यी उद्योगहरुको ठूलो योगदान रहेको छ ।

चालु आवको वैशाख महिनासम्म घ्यू तथा तेल उद्योगहरुले निर्यातमा २०.८३ प्रतिशत योगदान पु¥याएका छन् । यस्तै वैशाखसम्म वस्तु निर्यात गरी ६ अर्ब रुपैयाँ बराबरको विदेशी मुद्रा नेपाल भित्र्याएका छन् ।

गत आवमा २० अर्ब विदेशी मुद्रा भित्राएका घ्यू तथा तेल उद्योगहरु कच्चा पदार्थको मूल्य वृद्धि, बैंक तथा वित्तीय संस्थाहरुले बढाएको ब्याजदर, तरलता अभावका कारण चालु आवमा वनस्पति घ्यु तथा तेल उद्योगहरुले विगतका वर्षहरुमा जस्तो निर्यात गर्न सकेका छैनन् ।

आर्थिक वर्ष २०७९/०८० को १० महिनामा समग्र उद्योगहरुलाई हजार करोड भन्दा बढी अप्रत्याशित घाटा व्यहोरी रहेको वनस्पति घ्यू तथा तेल उत्पादक संघको ठहर छ ।

वनस्पति घ्यू तेल उद्योगहरुसँग प्रत्यक्ष रुपमा सावुन उत्पादन गर्ने उद्योग, कागज कारखाना, प्याकेजिङ्ग रोल उत्पादन गर्ने उद्योग, टिना बनाउने उद्योग, चामलको भुसा प्रयोग र प्लाष्टिक जार तथा वोतल उत्पादन गर्ने उद्योगहरु रहेका छन । वनस्पति घिउ तथा तेल उत्पादक कम्पनीहरुमा पर्न गएको क्षतिले यी सबै उद्योगहरु प्रभावित हुने उनीहरुको भनाई छ ।

तसर्थ भन्सार दरलाई १ प्रतिशत कायम गर्न तेल उत्पादक उद्योगी तथा व्यवसायीहरुले माग गर्दै भन्सार कर वृद्धि गर्दा उपभोक्ताहरु मर्कामा पर्ने र प्रति लिटर १५ रुपैयाँका दरले तेल तथा घ्यूको मूल्य बढ्ने जानकारी गराएका छन्।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।