निर्माण क्षेत्रमा छाएको मन्दीबीच आरती स्ट्रीप्सको आम्दानीमा वृद्धि, १४ अर्ब बढीको कारोबार

0
Shares

आरती स्ट्रीप्सले सन् २०२२ मा १४ अर्ब २७ करोड ३० लाख सञ्चालन आम्दानी गरेको छ ।

सादा तथा रङ्गिन जस्ता पाता उत्पादन तथा बिक्री वितरण गर्दै आएको आरती स्ट्रीप्सले सन् २०२१ मा १३ अर्ब ६१ करोड ७० लाख सञ्चालन आम्दानी गरेकोमा सन् २०२२ मा ५ प्रतिशतले बढेको हो ।

कम्पनीको सञ्चालन आम्दानीमा सामान्य वृद्धि देखिएता पनि अन्य वित्तीय सूचाङ्कमा गिरावट आएको छ । ह्रासकट्टी, अर्मोटाइजेसन, ब्याज, कर र भाडा सहितको नाफा सन् २०२१ मा कुल सञ्चालन आम्दानीको १२.२५ प्रतिशत थियो भने सन् २०२२ मा उक्त नाफा ११.९९ प्रतिशत रहेको छ ।

सन् २००१ मा स्थापना भएको कम्पनीले सादा तथा रङ्गीन जस्तापाताको उत्पादन गर्दै आएको छ । “आरती स्पेक्ट्रा” ब्रान्ड नामबाट कम्पनीले रङ्गिन जस्ता पाता, “आरती सुरक्षा” ब्रान्डको नामबाट एमएस पाइप, “आरती पर्फेक्ट” र “आरती टाइगर” ब्रान्डनामबाट टीएमटी छड बिक्री वितरण गर्दै आएको छ ।

विराटनगरमा रहेको कम्पनीको उत्पादन क्षमता ३ लाख ८१ हजार मेट्रिक टन प्रति वर्ष रहेको छ । तथापी कम्पनीले आफ्नो क्षमता अनुरुपको उत्पादन गर्न नसक्दा कम्पनीले मनग्य आम्दानी गर्न सकेको छैन ।

कम्पनीले ११ अर्ब ७६ करोड ९४ लाख बराबरको दीर्घकालीन तथा अल्पकालीान ऋणका लागि रेटिङ गराएको छ । रेटिङ एजेन्सी केयर नेपालले २ अर्ब ४८ करोड ९४ लाख बराबरको दीर्घकालीन ऋणका लागि ट्रिपल बी माइन्स र ९ अर्ब २८ करोड बराबरको अल्पकालीन ऋणका लागि ए–३ रेटिङ गरेको छ । कम्पनीको वित्तीय विवरण अनुसार कम्पनीले लिएको कर्जाको ब्याज भुक्तानी गर्न सक्ने क्षमता कुल कर्जाको २.४५ गुणा रहेको छ ।

कम्पनीमा चार भारतीय कम्पनीहरुको लगानी रहेको छ । कम्पनीका निर्देशक विशाल गुप्ता रहेका छन् ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।