वित्तीय संकटबाट गुज्रिएका अडानीले साढे ३ अर्ब डलरको सेयर बेच्ने

0
Shares

वित्तीय संकटबाट ग्रुज्रिएका गौतम अडानीले पुनः आफ्ना कम्पनीहरुको साढे ३ अर्ब डलर बराबरको सेयर संस्थागत लगानीकर्तालाई बिक्री गर्ने भएका छन् ।

विश्वको दोस्रो धनी रहेका अडानीको सम्पत्ति अमेरिकी सर्ट सेलर रिसर्च संस्थान हिडनबर्गले जनवरीमा सार्वजनिक गरेपछि सेयर बजारमा उनको कम्पनीको सेयरमूल्यमा भारी गिरावट आएपछि आफ्ना आधा सम्पत्ति गुमाएका थिए ।

अडानीले अडानी इन्टरप्राइजेज र अडानी ट्रान्समिसन मार्फत २ अर्ब ५० करोड अमेरिकी डलर बराबरको संस्थागत सेयर बिक्रीका लागि विद्यमान सेयरधनीबाट स्वीकृति समेत पाइसकेका छन् । यस्तै अडानी ग्रीन इनर्जी लिमिटेडबाट ग्रुपले १ अर्ब डलर बराबरको सेयर बिक्री गर्नका लागि प्रक्रिया सुरु गरेको छ ।

सन् २०२३ को दोस्रो त्रैमाससम्ममा कम्पनीले संस्थागत सेयरधनीहरुलाई सेयर बिक्री गर्ने गरी प्रक्रिया अघि सारेको छ । अडानीको कम्पनीमा लगानी गर्न तथा सेयर खरिद गर्नका लागि युरोप र मध्यपूर्वी एशियाली राष्ट्रका लगानीकर्ताहरुले इच्छा देखाएको अडानी ग्रुपसँग नजिकको सम्बन्ध भएका एक पदाधिकारीले बताएका छन् ।

संस्थापक सेयरधनीहरुलाई सेयर बिक्री गरी कम्पनीले आफ्ना परियोजनाको विस्तारमा लगानी गर्ने कम्पनीले जनाएको छ ।

हिडनबर्गले प्रकाशन गरेको प्रतिवेदनपछि विश्वको दोस्रो धनाढ्य व्यक्ति गौतम अडानी हाल २४ औं स्थानमा पुगेका छन् । हाल गौतम अडानीको नेटवर्थ ५३ अर्ब डलर रहेको छ । हिडनबर्ग संस्थानले प्रतिवेदन सार्वजनिक गर्नुअघि अडानीको नेटवर्थ १०० अर्ब डलर बढी थियो ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।