उपत्यका बाहिर जाने सवारी साधन बसपार्कबाट सञ्चालन नगरे कारबाही गर्ने महानगरको चेतावनी


काठमाण्डौं महानगरपालिकाले उपत्यका बाहिर जाने यात्रु बाहक सवारी साधन नयाँ बसपार्क बाहिरबाट सञ्चालन गरे कारबाही गर्ने चेतावनी दिएको छ ।

महानगरले असार १ गतेदेखि यात्रु बाहक सवारी साधन बसपार्क बाहिरबाट सञ्चालन गरे कारबाही गर्ने चेतावनी दिएको हो ।  महानगरले आज एक सूचना प्रकाशित गर्दै काठमाण्डौं महानगर क्षेत्रभित्रबाट उपत्यका बाहिर लामो, मध्यम तथा छोटो दूरीमा सञ्चालन हुने यात्रुवाहक सवारीसाधन नयाँ बसपार्क गोंगबुबाट मात्र छुट्नुपर्ने व्यवस्था कार्यान्वयनमा लगिने जनाएको हो ।

अनधिकृत स्थानमा पार्किङ गर्ने, टिकट बुकिङ गर्ने काउन्टर यथावत् राख्ने, सडक खण्डमा जथाभावी यात्रु चढाउने तथा ओराल्ने कार्यले यातायात व्यवस्थापन प्रणालीमा सुधार आउन नसकेको महानगरद्वारा जारी सूचनामा भनिएको छ ।

यस्तै महानगरले नयाँ बसपार्क गंगबुभन्दा बाहिर रहेका सबै टिकट काउन्टर हटाउन पनि आग्रह गरेको छ । धुलिखेल, बनेपा, साँखुसम्मको सडक इजाजतपत्र लिएका लामो दूरीका सवारी साधनको हकमा कलंकीदेखि जडीबुटीसम्म सवारी रोक्न निषेध गरिएको महानगरद्वार जारी सूचनामा उल्लेख छ ।

 

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।