नेप्स पीसीआई एसएससीको सल्लाहकार समितिमा चयन

0
Shares

पेमेन्ट कार्ड इन्डष्ट्री सेक्युरिटी स्ट्यान्र्डड काउन्सिल (पिसीआई एसएससी)को सल्लाहकार समितिमा नेपाल इलेक्ट्रोनिक पेमेन्ट सिस्टम (नेप्स) चयन भएको छ ।

कार्ड मार्फत हुने कारोबारको सुरक्षा र तत्सम्बन्धी विकास भैरहने विविध साइबर सुरक्षाका विषयलाई समेटी सुरक्षित कारोबारको वातावरण सिर्जना गर्न पिसीआई एसएससीको स्थापना भएको थियो । विश्वव्यापी रुपमा विभिन्न सरोकारवालाहरुलाई समेटी पर्याप्त डाटा सुरक्षा सम्बन्धि मापदण्डहरुको विकास गरि लागु गर्ने उदेश्य लिएर बनेको संस्थाकाृ सल्लाहकार समितिमा नेप्स चयन भएको हो ।

सल्लाहकार समितिमा भएका सदस्य सस्थाहरुले भिसा, मास्टरकार्ड लगायतका कार्ड मार्फत हुने कारोबारमा डाटा सुरक्षा सम्बन्धि मापदण्डहरुको विकासमा सहयोग गर्नेछन् । साथै आ–आफ्नो बजार, भूगोल र प्राविधिक अनुभवहरु मापदण्डको विकासक्रममा प्रस्तुत गरि मापदण्डहरुलाई समय सापेक्ष बनाउन नेतृत्व गर्नेछन् ।

पिसीआई एसएससीको सल्लाहकार समितिको सन् २०२३–२०२५ को कार्यकालका लागि २० सिटका लागि ६४ मनोनयन दर्ता भइ सन् २०२३ मार्च १३ देखि २४ सम्म चुनाव भएको थियो । जुन १ मा प्रकाशित नतिजा बाट नेप्स वित्तीय संस्था श्रेणीबाट मनोनित सल्लाहकार समितिमा मनोनित भएको हो ।

मनोनित भएसँगै, नेप्सले अमेजन, एप्पल, बैंक अफ अमेरिका, बारक्लेज बैंक, युरोपियन पेमेन्ट काउन्सिल, एचडीएफसी बैंक, आइबीएम, जेपी मोर्गन, एनपीसीआई, एस बैंक पेपल, माइक्रोसफ्टजस्ता अन्तराष्ट्रियरुपमा ख्याती प्राप्त संस्थाहरुसँग मापदण्ड निर्धारण तथा कार्ड मार्फत हुने कारोबारमा डाटा सुरक्षा सम्बन्धि अन्य विषयहरुमा छलफल तथा ज्ञान आदान–प्रदान गर्नेछ ।

सल्लाहकार समितिमा चयन भएको अवसरलाई कार्ड मार्फत हुने कारोवारको सुरक्षालाई अझै चुस्त र समय सापेक्ष बनाउन अनि भुक्तानी क्षेत्रमा नविनता र सुरक्षित डिजीटल परिदृश्यको कल्पना साकार पर्ने चुनौतीको रुपमा लिएको नेप्सका प्रमुख कार्यकारी अधिकृत सन्जिब सुब्बाले बताए ।

यस अघिनै नेप्स नेपालबाट पीसीआई एसएससीको एशोसिएट पार्टिसिपेटिङ र्अगनाइजेसन सदस्यता प्राप्त गर्ने पहिलो संस्था बनेको थियो ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।