लुम्बिनी विकास बैंकको ऋणपत्रमा आवेदन दिने आज अन्तिम दिन


लुम्बिनी विकास बैंकले जेठ १६ गतेदेखि निष्कासन गरेको ऋणपत्रमा आजसम्म मात्र आवेदन दिन पाइने छ ।

बैंकले प्रतिइकाई एक हजार रुपैयाँ अंकित दरका १ अर्ब बराबरको १० लाख कित्ता ऋणपत्र निष्कासन गरेको थियो । सोमध्ये ६० प्रतिशत अर्थात ६० करोड रुपैयाँ बराबरको ६ लाख कित्ता व्यक्तिगत तवरबाट बाँडफाँड गर्ने छ भने बाँकी ४० प्रतिशत अर्थात ४० करोड रुपैयाँ बराबरको ४ लाख कित्ता सर्वसाधारणमा बाँडफाँड गर्ने छ ।

सर्वसाधारणमा बाँडफाँड गरिने ऋणपत्रमध्ये २० हजार कित्ता ऋणपत्र सामूहिक लगानी कोषहरुका लागि छुट्याइएको छ। सर्वसाधारण लगानीकर्ताले बाँकी रहेको ३ लाख ८० हजार कित्ता ऋणपत्रमा आज कार्यालय समयसम्म आवेदन दिन सक्नेछन् ।

लगानीकर्ताले न्यूनतम २५ कित्ताका लागि आवेदन दिनुपर्नेछ भने अधिकतममा १ लाख कित्ताका लागि आवेदन दिन सक्नेछन् ।  नेपाल धितोपत्र बोर्डबाट स्वीकृती प्राप्त आस्बा सेवामा सहभागी बैंक तथा वित्तीय संस्थाहरु तथा तिनका तोकिएका शाखा कार्यालयहरु तथा सिडिएस एण्ड क्लिरिङ्ग लिमिटेडबाट निर्माण गरिएको मेरो सेयर अनलाइन प्रयोग गरी सि आस्बा प्रणालीमार्फत आवेदन दिन सकिनेछ ।

बैंकले दीर्घकालीन लगानीको स्रोत संकलनका लागि वार्षिक ११ प्रतिशत ब्याजरमा १० वर्षसम्मका लागि उक्त ऋणपत्र निष्कासन गरेको हो । सो ऋणपत्रमा आर्जित ब्याज रकम प्रत्येक आर्थिक वर्षको प्रथम अर्धवार्षिक र दोस्रो अर्धवार्षिक समाप्त भएपश्चात कर कट्टा गरी भुक्तानी गरिनेछ ।

ऋणपत्र निष्कासनका लागि गराएको क्रेडिट रेटिङ्गमा इक्रा नेपालले बैंकलाई इक्रा एनपी इस्यूअर रेटिङ्ग डबल बी प्लस रेडिङ्ग प्रदान गरेको छ। यसले मध्यम कर्जा जोखिम रहेको संकेत गर्दछ । ऋणपत्र निष्कासन गर्नका लागि बैंकले नबिल इन्भेष्टमेण्ट बैंकिङ लिमिटेडलाई बिक्री प्रबन्धक चयन गरेको छ ।

? समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।