बजेट कार्यान्वयनमा सांसदको जोड


सांसदहरुले सरकारले प्रस्तुत गरेको आगामी आर्थिक वर्षको बजेट असाध्यै महत्वाकांक्षी भएकाले कार्यान्वयनमा चुनौती रहेको टिप्पणी गरेका छन् ।

राष्ट्रियसभाको आजको बैठकमा आर्थिक वर्ष २०८०\८१ को राजस्व र व्ययको वार्षिक अनुमानमाथिको सामान्य छलफलमा भाग लिने सांसदहरुले बजेट कार्यान्वयनका आधारबारे प्रश्न गरेका हुन् ।

आजको बैठकमा बोल्ने अधिकांश सांसदले बजेटमा असार मसान्तदेखि नै प्रभावकारी अनुगमन गर्दै बजेट कार्यान्वयन गर्ने उल्लेख भए पनि कुन विधिद्वारा कार्यान्वयनमा गर्ने भन्नेमा सरकारले प्रष्ट पार्नुपर्ने बताए ।

सांसद जयन्ती राईले बजेटमा नयाँ विषय समावेश गरिएको, प्रगतिशील कार्यक्रम र विकासका योजना समेटिएको उल्लेख गर्दै जस्ताकोतस्तै कार्यान्वयन गर्न सरकारको ध्यानाकर्षण गराए । सांसद कृष्णप्रसाद पौडेलले सुझबुझका साथ आम नेपालीको इच्छा, आकाङ्क्षा, आशा र भरोसा जित्ने बजेट आएको उल्लेख गर्दै बजेटलाई प्रभावकारी ढङ्गबाट कार्यान्वयन गरेर जानुपर्ने बताए । “बजेटको कार्यान्वयन सही ढङ्गले होस्, आम नागरिकले यसको प्रतिफल प्राप्त गर्न सकून्”, उनले भने ।

सांसद जीतेन्द्रनारायण देवले नेपालको आर्थिक परिस्थितिको सन्दर्भमा बजेट सन्तुलित, व्यवहारिक र राष्ट्रहितमा केन्द्रित रहेको बताए । सांसद देवेन्द्र दाहालले बजेटमा सांसदले उठाएका विषय सम्बोधन गर्ने अवस्था नरहे बजेटमाथि छलफल गर्नुको अर्थ नभएको बताए । सांसद हरिराम चौधरीले अवैधानिक बाटोबाट वैदेशिक रोजगारीमा पुगेर अलपत्र परेका, मृत्यु भएका श्रमिकको उद्धारमा बजेटले ध्यान दिन नसकेको बताए ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।