आलु प्याजमा लगाइएको भ्याट नहटाएसम्म आयात खुल्दैन : थोक बिक्रेता संघ


नेपाल कृषिउपज आलु प्याज आयात निर्यात तथा थोक विक्रेता संघले आलु र प्याजमा लगाइएको भ्याट नहटाएसम्म आयात नखुलाउने बताएका छन ।

संघले आज पत्रकार सम्मेलन गर्दै अर्थमन्त्री प्रकाशसरण महतले प्रस्तुत गरेको आर्थिक ऐन २०८० संसोधन नगरेसम्म आलु र प्याजको आयात नगर्ने बताएको हो ।

संघले आलु प्याजमा ९ प्रतिशत कृषि सेवा शुल्क, अग्रीम आयकर ५ प्रतिशत गरी १४ प्रतिशत कर लगाउँदै आएकोमा थप १३ प्रतिशत भ्याट लगाउँदा व्यवसायीलाई हतोत्साहित तथा उभोक्तालाई करको भार थपेको उनीहरुको भनाई छ । आलु प्याजमा १३ प्रतिशत भ्याट लगाउँदा आलु प्याजको भाउ एक तिहाइले बढ्ने उनीहरुको भनाई छ ।

५० लाख रुपैयाँभन्दा बढीको कारोबार गर्दा सरकारलाई भ्याट तिर्नुपर्ने भएकाले यसले व्यवसायीलाई असहज बनाएको उनीहरुको गुनासो छ । सरकारको यस्तो नीति जनताको हित विपरित हुने भएकोले तत्काल यो नीति फिर्ता लिन संघले माग गरेको छ ।

नेपाल कृषिउपज आलु प्याज आयात निर्यात तथा थोक विक्रेता संघका अध्यक्ष मोहन बानियाले व्यवसायीहरुको रोजगारी धरासायी अवस्थामा पुगेको बताएका छन् । उनले सरकारले कृषि सेवा शुल्क र अग्रीम आयकर लिइरहेको बताउँदै आयातको तथ्याङ्क हेरेर भ्याट लगाउने निर्णय गलत भएको जीकिर गरे ।

यस्तै व्यवसायी उज्ज्वल कार्कीले यो नीतिले नेपाली कृषकको उत्पादनमा पनि भ्याट लाग्ने बताए । व्यवसायी भ्याटमा दर्ता भएकाले भ्याट बिल नकाटे सरकारले कारबाही गर्ने भन्दै यसलाई खारेज गर्नुपर्नेमा उनले जोड दिए । हाल नेपालमा ९० देखि ९५ प्रतिशतसम्म प्याज तथा ५० देखि ६० प्रतिशत आलु भारतबाट आयात हुने गरेको व्यवसायीको भनाई छ । सरकारले नेपालको उत्पादन बढाउने उद्देश्यले भ्याट लगाएको बताए पनि उत्पादन नै नभएको बेला यस्तो नीति ल्याउनु ठीक नभएको कार्कीले बताए । यस्तै उनले नेपालमा नै उत्पादन भएको आलुमा भ्याट लाग्दैन भनेर जनतालाई झुक्याउने काम भएको जिकिर गरे।

यस्तै अर्का व्यवसायी नबिन शाहीले तरकारी ल्याउँदा उत्पन्न हुने समस्याका अध्ययन नगरी भ्याट लगाउनु अव्यवाहारीक भएको भन्दै व्यावसायीको समस्या बुझ्न आग्रह गरे । आन्तरिक उत्पादन पर्याप्त बनाउन पहल नै नगरी १३ प्रतिशत कर बिस्तार गर्दा व्यवसायी र उपभोक्तालाई पर्ने आर्थिक भारको अध्ययन गर्नुपर्नेमा जोड दिए ।

नेपालमा वार्षिक रुपमा करिब १७ अर्ब हाराहारी आलु र प्याजको आयात हुने गरेको छ । चालु आवको वैशाखसम्म नेपालमा ६ अर्ब ९८ करोडको आलु आयात भएको छ । यसबाट राज्यले ७१ करोड ७४ लाख रुपैयाँ राजश्व आम्दानी गरेको छ । यस्तै ५ अर्ब ७० करोडको प्याज आयात गरेको छ र प्याजबाट ५७ करोड रुपैयाँ राजश्व आम्दानी गरेको छ । तर सरकारले भ्याट लगाउँदा जति मात्रामा पहिला आलु प्याजको आयात हुने गरेको थियो । त्यती मात्रामा प्याज आलु आयात नहुने संघले जनाएको छ ।

सरकारले भ्याट लगाउनु पहिला प्रतिकेजी ३४ रुपैयाँमा खरिद बिक्री हुने गरेको प्याजको भाउ अहिले प्रतिकिलो १०० रुपैयाँमा किनबेच भइरहेको छ । यता आलुको भाउमा पनि उल्लेखनिय वृद्धि भएको छ । जेठ १५ गते प्रतिकेजी ३१ रुपैयाँमा कारोबार भएको भारतीय रातो आलु अहिले प्रतिकेजी नै ६० रुपैयाँसम्म पुगेको छ । यद्यपी कालिमाटी तरकारी तथा फलफुल बजार विकास समितीले आलु र प्याजको मूल्य सूची सार्वजनिक गरेको छैन । कालिमाटीमा आलु र प्याज नभएका कारण त्यसको भाउ सार्वजनिक नगरिएको समिसतले जनाएका छन् ।

यता कालिमाटीले सो तरकारीको भाउ आधिकारीक रुपमा सार्वजनिक नगर्दा अन्य व्यापारीहरुले मनलाग्दी रुपमा भाउ निर्धारण गरिरहेका छन् । सरकारले भ्याट लागु हुने घोषणा गरेलगत्तै बन्द गरिएको भएतापनि केही व्यक्तिले भन्सार छली गरेर आलु र प्याज ल्याएर मनलाग्दी रुपमा बिक्री वितरण गरिरहेका छन् ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ।