आन्तरिक उत्पादनलाई प्रोत्साहन गर्न आयातीत वस्तुहरुमा भ्याट: अर्थमन्त्री

0
Shares

अर्थमन्त्री डा. प्रकाशशरण महतले आन्तरिक उत्पादनलाई प्रोत्साहन गर्न आलु प्याजमा भ्याट लगाइएको बताएका छन् । आन्तरिक उत्पादनलाई प्रोत्साहन गर्न आयातीत वस्तुहरुमा कर लगाएको उनले बताएका हुन् ।

अर्थमन्त्री महतले व्यवस्थापिका संसदमा चलिरहेको बजेट माथिको छलफलमा सांसदहरुको प्रश्नको जवाफ दिँदै नेपाली उत्पादनकर्ता कृषकलाई प्रोत्साहन गर्न आयातीत कृषि वस्तुहरुमा भ्याट लगाएको बताए । “उत्पादन बढाएर देशलाई आत्म निर्भर बनाउने कृषकलाई प्रोत्साहन गर्न भ्याटको व्यवसथा गरेको हो,” मन्त्री महतले भने,“आन्तरिक उत्पादनलाई प्रोत्साहन गर्ने कर पनि एउटा उपाय हो, आयात निरुत्साहित गर्ने र आन्तरिक उत्पादन बढाउन करलाइ चलाइएको हो ।”

उनले आन्तरीक उत्पादनमा भ्याट नलाग्ने बताउँदै आयात गरिएका वस्तुहरुमा मात्र भ्याट लगाउने स्पष्ट पारे । ठूला डिपार्टमेन्टल स्टोरमा खरिद गरेको खण्डमा भने आन्तरिक उतपादनमा पनि भ्याट लाग्ने व्यवस्था गरेको जानकारी मन्त्रीले महतले दिए । उनले आगामी आर्थिक वर्षको बजेट मार्फत स्थानीय रैथाने बाली प्रवद्र्धन गर्न जोड दिइएको समेत बताए ।

आगामी आर्थिक वर्षमा पनि सरकारको पुँजीगत खर्चको शीर्षकमा १७ प्रतिशत नै रहेको उनले स्पष्ट पारे । चालु र साधारण खर्चमा पनि पुँजीगत खर्च हुने भएकाले त्यसलाइ समेत एकीकृत गर्दा पुँजीगत खर्च २७ प्रतिशत पुग्ने स्पष्टिकरण मन्त्री महतले दिएका छन् ।

अर्थमन्त्रीले आफ्नो र प्रधानमन्त्रीको जिल्लालाई विशेष महत्वका साथ बजेट छुट्याएको आरोपको अस्वीकार गरेका छन् । सांसदहरुको उक्त आरोपमा मन्त्री महतले विगतका प्रधानमन्त्री र अर्थमन्त्रीले आफ्नो क्षेत्रमा लगेको बजेटको तुलनामा यसपालि निकै कम बजेट व्यवस्था गरेको बताए ।

त्यसैगरी उनले सुर्तिजन्य पदार्थमा लगाइएको कर नयाँ नभई विगतको करमा थप गरीएको स्पष्ट पारेका छन् ।

सांसदका प्रश्नको जवाफ दिने क्रममा मन्त्री महतले विद्यालयका कर्मचारीको सन्दर्भमा स्रोत थोरै भएर समस्या आएको बताए । “स्रोतको सीमितताका कारण अहिले नै त्यो विषयलाई सम्बोधन गर्न सकिएन,” उनले भने, “स्रोत व्यवस्थापन भएको अवस्थामा यसलाई पनि सम्बोधन गर्छौ ।”

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ।