गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा नेपाल एयरलाइन्सको व्यावसायिक उडान सुरु


राष्ट्रिय ध्वजावाहक नेपाल वायु सेवा निगमले पहिलो पटक भैरहवा स्थित गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा व्यावसायिक उडान थालेको छ ।

सञ्चालनमा आएको १३ महिनापछि मङ्गलबार पहिलो पटक नेपाल एयरलाइन्सको एयर बस ३२० अवतरण गरेको हो । गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा नेपाल एयरलाइन्सले क्वालालम्पुरबाट सातामा दुई व्यावसायिक उडान गर्नेछ ।

भैरहवामा केही यात्रुलाई ओरालेर उक्त विमान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्नेछ । पहिलो उडानमा ९१ जना यात्रु मध्ये ३१ जना भैरहवा र ६० जना काठमाण्डौँ आउनेछन् । यसअघि विमानस्थलमा परीक्षण उडान पनि निगमकै वाइडबडी जहाजबाट नै सुरु भएको थियो । २०७९ को जेठ २ गते कुवेतको जजिरा एयरको उडानसँगै गौतम बुद्ध अन्तर्राष्ट्रिय निगमले काठमाण्डौं –क्वालालम्पुर–गौतम बुद्ध विमानस्थल–काठमाण्डौं उडान गर्न लागेको जनाएको छ ।

अहिले क्वालालम्पुर–भैरहवाको प्रतियात्रु भाडादर ११ हजार ४६१ रुपैयाँ कायम गरिएको छ । क्वालालम्पुर–भैरहवा–काठमाण्डौं को भाडादर १२ हजार ३४६ रुपैयाँ कायम गरिएको छ । यसअघि गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट उडान गरेका जजिरा र हिमालय एयरलाइन्सले भने उडान बन्द गरिसकेका छन् ।

हिमालयले गौतम बुद्ध विमानस्थलबाट क्वालालम्पुर ४५ दिनसम्म नियमित उडान गरेको थियो । तर यात्रु नपाएको र उल्लेख्य मात्रामा नोक्सानी भएको भन्दै उडान बन्द गरेको थियो । हिमालयले भने कात्तिक २७ गतेबाट उडान सुरु गरेको थियो ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ।