विद्युत व्यापारका लागि योग्य निजी क्षेत्रलाई सरकारले बाटो खोलिदिनु पर्छ : इप्पान अध्यक्ष आचार्य


स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इप्पान)का अध्यक्ष कृष्णप्रसाद आचार्यले निजी क्षेत्र विद्युत व्यापारका लागि तयार भइसकेकोले सरकारले बाटो खोलिदिनुपर्ने बताएका छन् ।

इप्पानको २१ औं साधारणसभाको उद्घाटनमा बोल्दै अध्यक्ष आचार्यले ‘नेपालको पानी, समृद्धिको खानी’ भन्ने नारासहित नेपालको ऊर्जा क्षेत्रमा निजी क्षेत्रको धेरै ठूलो लगानी भइसकेको बताएका हुन् ।

“अनेकौं बाधा व्यवधानका बाबजुद देश उज्यालो बनाउनका लागि ऊर्जामा लगानी गर्ने निजी क्षेत्रका साथीहरूप्रति आभारी छु ।” आचार्यले भने ।

जुनसुकै मुलुकको आर्थिक समृद्धिको आधार ऊर्जा नै रहेको र सबै देशले प्राप्त स्रोतलाई अधिकतम उपयोग गरिरहेकोले नेपालले पनि आफ्नो स्रोतको उच्चतम उपयोग गर्नुपर्ने आचार्यले बताए ।

“पछिल्लो समय कार्बन उत्सर्जन घटाउने विश्वव्यापी चासोको विषय छ । कार्बन घटाउने क्षमता भएको मुलुक नेपाल हो । नेपालमा क्लिन इनर्जीको धेरै सम्भावना छ । हाइड्रो, सौर्य सबै ऊर्जाको सम्भावना छ ।” आचार्यले भने ।

नेपालको विद्युत जडित क्षमता करिब ३ हजार मेगावाट पुग्दा, ५ हजार मेगावाट क्षमताका आयोजना निर्माणाधिन, ११ हजार मेगावाट क्षमताका आयोजना पीपीएको पर्खाइमा र अध्ययनको चरणमासमेत रहेका आयोजना जोड्दा २५ हजार मेगावाटका आयोजना विभिन्न चरणमा रहेको आचार्यले जानकारी दिए ।

अहिले विद्युतको खपत बढाउने काम चुनौतीपुणर् रहेको आचार्यको भनाई थियो । औद्योगिक, सिंचाई, विद्युतीय चुल्हो र विद्युतीय गाडीमा उर्जाको खपत बढाउनु पर्नेमा आचार्यले जोड दिए ।

विद्युत उत्पादनमा निजी क्षेत्रको प्रवेश बिना उत्पादन सफल नभएको भन्दै खपत बढाउन र निर्यात गर्नको लागि पनि अब निजी क्षेत्रलाई व्यापार गर्न दिनुपर्ने आचार्यले बताए । “एक मेगावाटको आयोजना बनाउने निजी क्षेत्रका साथीहरूले आज १०० मेगावाटको आयोजना बनाइरहेका छन् । अब निजी क्षेत्रले जत्रो आयोजना पनि बनाउन सक्छ । सरकारले सहयोग गरिदिनुपर्‍यो ।” आचार्यले भने ।

प्रधानमन्त्री पुष्पकमल दाहालको यस पटकको भारत भ्रमण ऊर्जा केन्द्रित भएको पनि आचार्यले बताए । “विगतका भ्रमण राजनीति केन्द्रित हुन्थे । यसपटक आर्थिक मुद्दामा केिन्द्रत भएको र त्यसमा पनि अझ ऊर्जा केन्द्रित नै भयो । यो ऊर्जा उद्यमीको लागि खुसीको कुरा हो ।” आचार्यले भने ।

“भारतमा १० हजार मेगावाट विद्युत निर्यातको समझदारी भएको छ । तर, यो सफल होला र ? भन्ने पनि प्रश्न उठेको छ । हामी सकारात्मक छौ,” आचार्यले भने, “हिजो ४० मेगावाट निर्यात हुँदा पनि जम्मा ४० भनेका थिए । आज ४०० मेगावाट गइरहेको छ । त्यसैले १० हजार मेगावाट विद्युत पनि निर्यात हुनेछ ।”

विद्युत उत्पादनमा निजी क्षेत्र नआउँदा सम्म विद्युत उत्पादन बढ्न नसकेको बताएका उनले यसको व्यापारमा पनि निजी क्षेत्र नआएसम्म व्यापारको दायरा बढ्न नसक्ने बताए । “हामी विद्युत व्यापार गर्न योग्य छौं, तयार छौं । सरकारले अनुमति दिएर वातावरण बनाइ दिनुपर्छ,” अचार्यले भने ।

निर्यात गर्न पाइयो भनेर खुशी भएर मात्र नपुग्ने बताएका उनले देशभित्र खपत गर्ने वातावरण बनाउनु पनि उत्तिकै आवश्यक भएको बताएका थिए । “समृद्ध नेपाल निर्माणमा अघि बढीरहेका छौं । त्यसको आधार ऊर्जा नै हो । । देशभित्र मात्रै नभएर देश बाहिर बंगलादेशसम्म जाने वातावरण बनाउँ । ७ मन्त्रालय, २२ विभाग र २०० टेबलमा जानुपर्ने अवस्था अन्त्य गरौं,” उनले भने ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।