विद्युतीय भुक्तानी गर्दा सजगता अपनाउन राष्ट्र बैंकको आग्रह

0
Shares

नेपाल राष्ट्र बैंकले विद्युतीय भुक्तानी गर्ने क्रममा सावधानी अपनाउन सर्वसाधारणलाई आग्रह गरेको छ ।

पछिल्लो समयमा अनधिकृत व्यक्तिहरुले आफू बैंक तथा वित्तीय संस्था, भुक्तानी सेवा प्रदायकको कर्मचारी भएको भन्दै ग्राहकहरुलाई ठगिरहेको घटना दोहोरिरहेको जनाउँदै विद्युतीय भुक्तानी गर्ने समयमा सतर्क रहन राष्ट्र बैंकले अनुरोध गरेको हो।

आफू बैंक तथा वित्तीय संस्थाको कर्मचारी भएको बताउँदै केही मानिसहरुले ग्राहक पहिचान सम्बन्धी विवरण (केवाइसी) अद्यावधिक गर्न ग्राहकको मोबाइलमा आउने वान टाइम पासवर्ड (ओटिपी) तथा निश्चित अंकको नम्बर उल्लेख भएको म्यासेज लगायतका विवरण माग्ने गरेको घटना आइरहेका छन् ।

यसरी अनधिकृत व्यक्तिले ग्राहकको मोबाइल बैंकिङ र इन्टरनेट बैंकिङ र कनेक्ट आईपिएस र वालेट जस्ता विद्युतीय भुक्तानीका साधनको पासवर्ड रिसेट गरी ग्राहकको खातामा आफ्नो पहुँच पु¥याई ग्राहकको खाताबाट विभिन्न बैंक तथा वित्तीय संस्था एवं वालेटहरुमा रकमान्तर गर्ने प्रवृत्ति बढ्दै गएको छ ।

यस्ता ठगीबाट जोगिनका लागि कुनै पनि परिचित तथा अपरिचित व्यक्तिले माग गरेको कुनै पनि सूचनाहरु उपलब्ध नगर्न र नगराउनका लागि राष्ट्र बैंकले अनुरोध गरेको हो ।

साथै कसैले यस प्रकारका घटना घटाएमा वा घटाउनका लागि उत्प्रेरित गरेमा सो घटनाको जानकारी तत्कालै सम्बन्धित सेवा प्रदायक संस्था तथा यस बैंकको वित्तीय ग्राहक संरक्षण पोर्टलमा दर्ता गराउन बैंकले आग्रह गरेको छ ।

यसका साथै, भुक्तानी सम्बन्धी कार्य गर्न अनुमतिपत्र प्राप्त संस्थाहरुले यस्ता गतिविधिहरुलाई सुक्ष्म रुपमा निगरानी गर्न समेत राष्ट्र बैंकले आग्रह गरेको छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।