नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष राजेन्द्र मल्लले नेपाली बस्तुहरुको ब्राण्डिङ गरेर निर्यात प्रर्वद्धन गर्नुपर्नेमा जोड दिएका छन् । उच्च व्यापार घाटा नियन्त्रणका लागि निर्यातयोग्य बस्तुहरुको पहिचान र अन्तर्राष्ट्रिय ब्राण्डिङको आवश्यक्तामा अध्यक्ष मल्लले जोड दिए ।
नवलपरासी चेम्बर अफ कमर्सको पहिलो साधारणसभालाई शनिवार उद्घाटन गर्दै अध्यक्ष मल्लले मुलुकमा निर्यात योग्य वस्तुहरुको अपार सम्भावना भएर पनि पहिचान गर्न नसकिएको बताए । मुलुकमा वार्षिक १० खर्व हाराहारीमा निर्यात सम्भावना रहेको अध्यक्ष मल्लले बताए ।
‘मुलुकमा प्रत्येक वर्ष बजेटकै हाराहारीमा व्यापार घाटा छ । स्वदेशमा भएका निर्यातयोग्य वस्तुहरुको पहिचान हुन सकेको छैन । निर्यात भईरहेका बस्तुहरुको पनि ब्राण्डिङ हुन सकेको छैन ।
चिया कफी जस्ता बस्तुहरुको आफ्नै लोगो हुन नसक्दा निर्यातमा अपेक्षित लाभ लिन सकिएको छैन’, उनले भने । नेपाली बस्तुहरुको निर्यात सहजीकरणका लागि मुख्य मुख्य भन्सार नाकाहरुमा अन्तराष्ट्रियस्तरको क्वारेन्टिन ल्याव स्थापना गर्नुपर्नेमा उनले जोड दिए ।
अर्को प्रसंगमा अध्यक्ष मल्लले करको दर भन्दा पनि दायरा बढाउन तर्फ सरकारको ध्यान जानुपर्नेमा जोड दिए । राजस्व ६० प्रतिशत हाराहारीमा मात्रै संकलन भएको भन्दै उनले चालु आर्थिक वर्षमा सरकारी श्रोत नै संकुचित हुन पुगेको बताए । केही वस्तुहरुको आयात प्रतिवन्ध लाग्दा राजश्वमा गम्भिर असर परेकाले करको दायारालाई फराकिलो बनाउनुपर्ने अध्यक्ष मल्लको भनाइ छ ।
मुलुकको आर्थिक नीतिमा सवैदलहरु एकै ठाउँमा उभिनुपर्नेमा अध्यक्ष मल्लले जोड दिए । बजेटलाई बितरणमुखी भन्दा पनि उत्पादनमुखी बनाउनुपर्नेा सवैदमा दलहरुको एउटै धारणा बन्नुपर्ने उनको भनाइ छ । युवाहरुलाई स्वदेशमै रोजगारी सिर्जना गर्ने गरी राज्यको नीति बन्नुपर्नेमा उनले जोड दिए ।
? समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।
प्रतिक्रिया