नेपालगञ्ज नाकाबाट पेट्रोलियम पदार्थको आयात घटेको छ । भन्सार कार्यालय नेपालगञ्जको तथ्याङ्क अनुसार गत वर्षको भन्दा चालु आर्थिक वर्षको वैशाखसम्म नेपालगन्ज नाका हुँदै आयात हुने वस्तुको सूचीमा सबैभन्दामाथि रहँदै आएको पेट्रोलियम पदार्थको आयात घटेको पाइएको छ ।
पछिल्लो १० महिनाको तथ्याङ्क अनुसार नेपालगञ्ज नाका हुँदै भारतबाट १२ अर्ब ९६ करोड १० लाख रुपैयाँ बराबरको १ लाख ८ हजार ३ सय २८ किलोलिटर डिजल आयात भएको छ । डिजल आयातबाट कार्यालयलाई ४ अर्ब ६२ करोड २९ लाख रुपैयाँ राजस्व प्राप्त भएको नेपालगन्ज भन्सार कार्यालयका भन्सार अधिकृत डिल्लुप्रसाद शर्माले जानकारी दिए । गत वर्ष सो अवधिमा १३ अर्ब ११ करोड ३ लाख रुपैयाँ बराबरको १ लाख ४१ हजार ५२८ किलोलिटर डिजल आयात भएको थियो । यसबाट कार्यालयले ५ अर्ब ५४ करोड २७ लाख रुपैयाँ राजस्व असुल गरेको थियो । वैशाखसम्म ३ अर्ब ८६ करोड ९७ लाख ८४ हजार रुपैयाँ मूल्य बराबरको ३८ हजार ८ सय ७६ किलोलिटर पेट्रोल आयात भएको छ । यसबाट २ अर्ब २२ करोड ५२ लाख रुपैयाँ राजस्व असुली भएको छ ।
गत वर्षको सोही अवधिमा ४ अर्ब चार करोड २९ लाख रुपैयाँ बराबरको ४४ हजार ९७६ किलोलिटर पेट्रोल आयात भएको थियो । उक्त पेट्रोल आयात हुँदा २ अर्ब ५१ करोड ७९ लाख रुपैयाँ राजस्व असुली भएको छ । त्यस्तै ३ अर्ब ९५ करोड ८२ लाख रुपैयाँ बराबरको तीन करोड ४८ लाख ९८ हजार किलो एलपी ग्यास आयात भएकामा गत वर्ष ४ अर्ब २६ करोड ८२ लाख रुपैयाँ बराबरको तीन करोड ६९ लाख २ हजार ६७० किलो एलपी ग्यास आयात भएको शर्माले बताए ।
अधिकृत शर्माका अनुसार वैशाखसम्म गत वर्षको भन्दा ६३ करोड २४ लाख रुपैयाँ बराबरको डिजेल, पेट्रोल र एलपी ग्यास आयात घटेको छ भने गत आर्थिक वर्षको भन्दा करिब १ अर्ब २७ करोड ३ लाख रुपैयाँ कम राजस्व सङ्कलन भएको छ । एलपी ग्यास आयातबाट गत वर्ष ७९ करोड ६१ लाख रुपैयाँ राजस्व असुली हुँदा चालु आर्थिक वर्षमा ७३ करोड ८३ लाख २६ हजार रुपैयाँ मात्र राजस्व असुली भएको छ ।
कार्यालयले गत आर्थिक वर्षको भन्दा ७१ करोड ५५ लाख रुपैयाँ कम राजस्व सङ्कलन भएको जनाएको छ । गत आर्थिक वर्षको वैशाखसम्म २ अर्ब ८४ करोड ४५ लाख रुपैयाँ बराबरको ५ करोड ५१ लाख ४३ हजार किलो चिनी आयात गरेको थियो । यसबाट कार्यालयलाई १ अर्ब ६१ करोड चार लाख रुपैयाँ राजस्व असुली भएको थियो । चालु आर्थिक वर्षको १० महिनामा १ अर्ब ५७ करोड ६६ लाख रुपैयाँ बराबरको २ करोड ६२ लाख ९४ हजार ९८७ किलोग्राम चिनी आयात गरेको थियो । यसबाट कार्यालयलाई ८९ करोड ४९ लाख ५९ हजार रुपैयाँ राजस्व प्राप्त भएको छ । गत आर्थिक वर्षको वैशाखसम्म ८ अर्ब ३७ करोड ७१ लाखको १४ करोड ७५ लाख चार हजार ७६० किलोग्राम चामल आयात भएको थियो । -रासस
? समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।
प्रतिक्रिया