राष्ट्र बैंकले १० अर्बको विकास ऋणपत्र बिक्री गरेर आन्तरिक ऋण उठाउँदै

राष्ट्र बैंकले १० अर्बको विकास ऋणपत्र बिक्री गरेर आन्तरिक ऋण उठाउँदै

नेपाल राष्ट्र बैंकले १० अर्ब रुपैयाँ बराबरको विकास ऋणपत्र बिक्री गरेर आन्तरिक ऋण उठाउने भएको छ । राष्ट्र बैंकले सरकारलाई आवश्यक आन्तरिक ऋण जुटाउनका लागि १० अर्ब रुपैयाँ बराबरको विकास ऋणपत्र जारी गर्ने भएको हो ।

राष्ट्र बैंकले यहि असार ५ गते मंगलबार १० अर्ब रुपैयाँ बराबरको विकास ऋणपत्र २०८६ ’ङ’ जारी गरेर आन्तरिक ऋण उठाउन लागेको हो । उक्त विकास ऋणपत्रको बोलकबोल असार ५ र निष्कासन असार ६ गते हुने राष्ट्र बैंकले जनाएको छ ।

यो विकास ऋणपत्र ६ वर्षे अवधिको हुनेछ । असार ६ गते निष्काशन मिति तोकिएको ऋणपत्रको परिपक्व हुने अवधि २०८६ असार ६ गते हुनेछ । केन्द्रीय बैंकले जारी गर्ने उक्त ऋणपत्र बैंक तथा वित्तीय संस्था, गैरबैंक वित्तीय संस्था, बीमा कम्पनी, संगठित संस्था र नेपाली नागरिकले खरिद गर्न सक्नेछन् । ऋणपत्रको व्याजदर बोलकबोलबाट निर्धारण हुने राष्ट्र बैंकले जनाएको छ ।

इच्छुकले असार ५ गते दिउँसो ३ बजेसम्म बोलकबोलमार्फत आवेदन गर्न सक्नेछन् । आवेदन गर्दा न्यूनतम ५० हजार र बढीमा ५० हजारले भाग जाने गरी निष्कासित सबैका लागि आवेदन दिन सक्नेछन् । प्रतिष्पर्धी र अप्रतिष्पर्धी बोलवालालार्ई निष्काशित रकमको ८ अर्ब ५ करोड (८५ प्रतिशत) र १ अर्ब ५ करोड (१५ प्रतिशत) छुट्याइएको केन्द्रीय बैंकले जनाएको छ ।

बोलवालाले कबोल गरेको ब्याजदरलाई सानोदेखि ठूलो क्रममा मिलाएर राखी बाँडफाँड गरिने रकमसम्ममा कायम भएको कट अफ ब्याजदरलाई एकल ब्याजदर कायम गरी सो ब्याजदर र सो ब्याजदरभन्दा तलका सबै बोलवालाहरुलाई सोही एकल ब्याजदरमा ऋणपत्र उपलब्ध गराईने बैंकले जनाएको छ ।

खरिद गरिएको उक्त ऋणपत्र धितो राखेर बैंक तथा फाइनान्स कम्पनीबाट कर्जा लिन र दिनसमेत पाइन्छ । ऋणपत्रको दोस्रो बजार कारोबार नेपाल स्टक एक्सचेञ्जमार्फत हुनेछ ।

निश्चित ब्याजदर दिई सरकारले देशभित्रै ऋण संकलन गरेर आफ्ना विभिन्न योजनाका लागि स्रोत जुटाउन ऋणपत्र तथा बचतपत्रलाई माध्यमका रुपमा पटक पटक प्रयोग गर्ने गरेको छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।

प्रकाशित मिति: ४ असार २०८०, सोमबार १२ : ०४ बजे