काठमाण्डौं महानगरद्वारा ११ महिनामा ८ अर्ब राजस्व सङ्कलन


काठमाण्डौं महानगरपालिकाले चालु आर्थिक वर्षको ११ महिनामा आठ अर्ब रुपैयाँ राजस्व सङ्कलन गरेको छ ।

आन्तरिक आय, राजस्व बाँडफाँड र आन्तरिक अनुदान गरी आव २०७९\८० को ११ महिनामा आठ अर्ब २९ करोड ९५ लाख ५९ हजार दुई सय ७८ रुपैयाँ राजस्व सङ्कलन गरिएको राजस्व विभागका प्रमुख ध्रुव काफ्लेले जानकारी दिए । उनका अनुसार यो रकम महानगरको राजस्व लक्ष्यको ७९ प्रतिशतमात्रै हो ।

महानगरपालिकाले चालु आवका लागि राजस्व लक्ष्य १० अर्ब ४२ करोड ९५ लाख राखेको थियो । यसमध्ये सबैभन्दा धेरै प्रगति महानगरले आन्तरिक आयतर्फ गरेको छ । राजस्व सङ्कलनमध्ये महानगरपालिकाले आन्तरिक आयतर्फ ९८ दशमलव ८७ प्रतिशत हासिल गरेको जनाएको छ । महानगरपालिका चार अर्ब ८५ करोड रुपैयाँ आन्तरिक आयको राजस्व लक्ष्यमध्ये चार अर्ब ७७ करोड रुपैयाँ उठाएको हो । जुन अघिल्लो आवको भन्दा एक अर्ब बढी भएको विभागले जनाएको छ ।

विभागका अनुसार आव २०७८\७९ मा महानगरले तीन अर्ब ७२ करोड रुपैयाँमात्रै आन्तरिक आय सङ्कलन भएको थियो । महानगरपालिकाले आन्तरिक आयतर्फ घरबहाल करमा एक अर्ब ९२ करोड १२ लाख ८० हजार रुपैयाँ राजस्व सङ्कलन गरेको छ । चालु आवमा महानगरपालिकाले यो शीर्षकमा दुई अर्ब रुपैयाँ राजस्व उठाउने लक्ष्य राखेको थियो । यस्तै सम्पत्ति करमा ९१ करोड ३३ लाख रुपैयाँ राजस्व सङ्कलन गरेको छ ।

जुन अघिल्लो आवको भन्दा १२ करोड रुपैयाँले बढी भएको जनाइएको छ । महानगरलाई राजस्व लक्ष्यमा पुग्न राजस्व बाँडफाँड भएर आउने रकमले असर परेको देखिएको छ । यसैगरी महानगरले बाँडफाँडबाट प्राप्त हुने राजस्वबाट एक अर्ब ५५ करोड ८९ लाख रुपैयाँ जम्मा गरेको छ ।

राजस्व बाँडफाँड पाउनुपर्नेमा महानगरपालिकालाई प्राप्त भएको अघिल्लो आवको भन्दा झन्डै एक अर्ब रुपैयाँले कमी भएको देखिन्छ । गत आव २०७८\७९ मा राजस्व बाँडफाँडबाट प्राप्त हुने रकम एक अर्ब ७५ करोड ५४ लाख रुपैयाँ थियो, जुन एक सय छ प्रतिशत रहेको थियो । तर यो पटक लक्ष्यको जम्मा ४५ प्रतिशतमात्रै महानगरलाई बाँडफाँड भएको हो ।

गत आवमा दुई अर्ब ५८ करोड २५ लाख रुपैयाँ राजस्व बाँडफाँडबाट आउने रकम लक्ष्य राखेकामा जेठ मसान्तसम्म दुई अर्ब ७५ करोड ५४ लाख रुपैयाँ अर्थात् एक सय छ प्रतिशत बाँडफाँड भएको थियो । तर चालु आव तीन अर्ब ४१ करोड ३१ लाख लक्ष्य राखेकामा एक अर्ब ५५ करोड ८९ लाख रुपैयाँमात्रै उठेको हो ।

महानगरपालिकाको राजस्व विभागका अनुसार चालु आवको राजस्वको लक्ष्य भेटन् नसक्नुमा महानगरलाई प्राप्त हुने राजस्व बाँडफाँड हो ।
विभागका प्रमुख ध्रुव काफ्लेले महानगरले पर्याप्त आन्तरिक राजस्व उठाए पनि बाँडफाँड भएर आउने रकम कम हुँदा लक्ष्य प्राप्तिको दूरी टाढा भएको बताए । राजस्व विभागका अनुसार चालु आवमा आन्तरिक अनुदानतर्फ एक अर्ब ९६ करोड ९६ लाख रुपैयाँ महानगरको राजस्व जम्मा भएको छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।