इन्डिगो एयरलाइन्सले ५०० एयरबस खरिद गर्ने, तोड्यो एयर इन्डियाको रेकर्ड

0
Shares

भारतीय एयरलाइन्स कम्पनी–इन्डिगो एयरलाइन्सले ५०० वटा एयरबस खरिद गर्ने घोषणा गरेको छ ।

यससँगै यस अघि किर्तीमानी रेकर्ड राख्दै ४७० बोइङ तथा एयरबस खरिद गर्ने निर्णय गरेको एयर इन्डियाको रेकर्ड तोडिएको हो ।

इन्डिगो एयरलाइन्सले जुन १९ तारिखमा ‘पेरिस एयर सो’ मा उपस्थित भई एयरबससँग सम्झौता गरेको हो । सम्झौता पत्रमा इन्डिगो एयरलाइन्सका अध्यक्ष भी शुमन्त्रन, प्रमुख कार्यकारी अधिकृत पिटर एलबर्स र एयरबसका प्रमुख कार्यकारी अधिकृत ग्युलौमे फौरी, व्यापार प्रमुख तथा अन्तराष्ट्रिय विभागका प्रमुख क्रिष्चियन चेर्ररले हस्ताक्षर गरेका छन् ।

एयरबसले विज्ञप्ति जारी गर्दै, ए३२० मोडलको एयरबसका लागि इन्डिगो एयरलाइन्सले गरेको अर्डर अहिले सम्मकै उच्च रहेको जानकारी दिएको छ ।

एयरबस ए३२० मोडलका एयरबस अर्डर गर्दै इन्डिगो एयरलाइन्सले सन् २०३० देखि २०३५को समयावधि भित्रमा सम्पूर्ण एयरबस भारत भित्रिने घोषणा गरेको छ ।

यस अघि फेब्रुअरी महिनामा टाट ग्रुपले एयर इन्डिया अधिग्रहण गरेसँगै कम्पनीले ४७० एयरबस तथा बोइङ अर्डर गरेको थियो । एयर इन्डियापछि नयाँ किर्तीमान बनाउँदै इन्डिगो एयरलाइन्सले ५०० वटा एयरबस अर्डर गरेको छ ।

हाल एयर इन्डिगोका ३०० हवाइ विमान उपलब्ध छन् । इन्डिगो एयरलाइन्सले २० अन्तराष्ट्रिय उडान भरेको छ भने ७८ स्थानमा आन्तरिक उडान भर्दै आएको छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।