ट्रेजरीको डिस्काउन्ट रेट बैंकदर भन्दा तल, २८ दिनेको ४ प्रतिशतमा सीमित

0
Shares

वित्तीय क्षेत्रको अल्पकालिन रेट निरन्तर घट्दै बैंक दर भन्दा पनि तल आएको छ । सोमबार २८ दिने ट्रेजरी बिल्सको २ प्रतिशत विन्दु र सो भन्दा धेरै अवधिको ट्रेजरीको डिस्काउन्ट रेट एक प्रतिशत विन्दुले घटेको हो ।

चालु आर्थिक वर्षको सुरुवातीमा बैंकहरुले साढे ८ प्रतिशत बैंक दरमा स्थायी तरलता सुविधा लिइ करिब १२ प्रतिशतसम्मको डिस्काउन्ट रेटमा ट्रेजरीमा लगानी गरेका थिए । तर, चालु आर्थिक वर्षको अन्त्य नजिकिएसंगै वित्तीय प्रणालीको तरलता बढेपछि बैंक वित्तीय संस्था उच्च प्रतिस्पर्धाले टे«जरीको डिस्काउन्ट रेट घटेको हो । बैंक तथा वित्तीय संस्थामा कर्जा माग न्यून भएको र सरकारी खर्चमा सुधार आएसंगै रेमिट्यान्स आप्र्रबाहमा आएको वृद्धिले वित्तीय क्षेत्रमा तरलताको अवस्था सहज भएको एक बैंकले बताए ।

“बैंकहरुमा निक्षेप बढेको छ, कर्जाको माग छैन,” ती बैंकरले भने,“बैंकहरुमा कर्जाको माग नभएपछि सबैले सरकारी ऋणपत्रमा लगानी बढाउन खोजेपछि डिस्काउन्ट रेट घटेको हो ।” हाल राष्ट्र बैंकले बैंकदर ७.५ र नीतिगत दर ७ प्रतिशत तोकेको छ ।

सरकारले सोमबार निष्कासन गरेको ट्रेजरीमा बैंक वित्तीय संस्थाले मागेको औसत डिस्काउन्ट रेट २८ दिनेको ४ र ९१, १८२, ३६४ दिनेको ७ प्रतिशतको हाराहारीमा कायम भएको छ । डिस्काउन्ट रेट संगै अन्तर बैंक दर पनि घटेर ४.५१ प्रतिशतमा सिमित भएको छ । त्यसैगरी कर्जा निक्षेप अनुपात समेत ८३.८८ प्रतिशतमा झरेको छ ।

बैंक वित्तीय संस्थाले गत बैशाखमा एक प्रतिशत विन्दुले निक्षेपको ब्याजदर घटाए । त्यससंगै नेपाल राष्ट्र बैंकले पनि वैशाखको अन्तिममा चालु आर्थिक वर्षको मौद्रिक नीतिको तेस्रो त्रैमासीक समिक्षा गरी बैंक दर एक प्रतिशत विन्दुले घटाई ७.५ प्रतिशत कायम गर्यो । त्यसपछि अल्पकालिन तथा दिर्घकालिन ब्याजहरु घट्ने क्रममा देखिएका हुन ।

केन्द्रीय बैंकले बैंकदर र बैंकहरुले कर्जा निक्षेपको ब्याजदर घटाएपछि अल्पकालिन ब्याजदर झनै घट्ने क्रममा देखिएको हो । चालु आर्थिक वर्षमा १२ प्रतिशतसम्म पुगेको डिस्काउन्ट रेट हाल २८ दिनेको ४ र त्यो भन्दा धेरै अवधिको ७ प्रतिशतमा झरेको छ । अल्पकालिन रेटहरुमा आएको गिरावटले बैंकिङ प्रणालीको ब्याजदर पनि अझै घट्ने स्पष्ट हुन्छ ।

सरकारले सोमबार आन्तरिक ऋण उठाउनका लागि ३० अर्ब ८६ करोड रुपैयाँ बरावरको ट्रेजरी निष्कासन गरेको थियो । सोमबार निष्कासन भएको ट्रेजरीका लागि कायम भएको औसत डिस्काउन्ट रेट जेठ ३० गतेको तुलनामा असार ४ गते २ प्रतिशत विन्दुसम्मले घटेको हो ।

सरकारले असार ४ गते सोमबार १० अर्ब रुपैयाँ बरावरको २८ दिने, ९ अर्ब ५३ करोड रुपैयाँ बरावरको ९१ दिने, ६ अर्ब ३३ करोड बराबरको १८२ दिने र ५ अर्ब बरावरको ३६४ दिने ट्रेजरी जारी गरेको हो । सो मध्ये ४ अर्ब बरावरको ९१ दिने र ३ अर्ब बराबरको १८२ दिने ट्रेजरी बिल्स नयाँ हो ।

सरकारले निष्कासन गरेको १० अर्ब रुपैयाँ बरावरको २८ दिने ट्रेजरीका लागि बैंक वित्तीय संस्थाले माग गरेको अधिकतम डिसकाउन्ट रेट ५.६९०२ प्रतिशत छ भने न्यूनतम ३.५७०५ प्रतिशत रहेको छ । यसको औसत डिस्काउन्ट रेट ४.२९६४ प्रतिशत कायम भएको छ । यसभन्दा अघि जेठ ३० गते निष्कासन भएको २८ दिने ट्रेजरीको औसत डिस्काउन्ट रेट ६.६८३७ प्रतिशत थियो ।

त्यसैगरी नयाँ र पुरानो गरी ९ अर्ब ५३ करोड रुपैयाँ बराबरको ९१ दिनेका लागि बैंक वित्तीय संस्थाले अधिकतम ७.१९४७ प्रतिशत डिस्काउन्ट रेट माग गरेका छन भने न्यूनतम ६.८८९९ प्रतिशत रहेको छ । यसको औसत डिस्काउन्ट रेट ७.०३१५ प्रतिशत कायम भएको छ । यसभन्दा अघि जेठ ३० गते निष्कासन भएको ९१ दिने ट्रेजरीको औसत डिस्काउन्ट रेट ८.१३७० प्रतिशत थियो ।

सोमबार ६ अर्ब ६३ करोड रुपैयाँ बरावरको १८२ दिने ट्रेजरीका लागि बैंक वित्तीय संस्थाले माग गरेको अधिकतम डिस्काउन्ट रेट ७.३८३५ प्रतिशत छ भने न्यूनतम ६.७००० प्रतिशत छ । यसको औसत डिस्काउन्ट रेट ७.०२५२ प्रतिशत कायम भएको छ । यसभन्दा अघि जेठ ३० गते निष्कासन भएको १८२ दिने ट्रेजरीको औसत डिस्काउन्ट रेट ८.०४४५ प्रतिशत थियो ।

त्यसैगरी सोमबार निष्कासन भएको ५ अर्ब रुपैयाँ बरावरको ३६४ दिने नयाँ ट्रेजरीका लागि बैंक वित्तीय संस्थाले माग गरेको अधिकतम डिस्काउन्ट रेट ७.४६०० प्रतिशत छ भने न्यूनतम ६.९६०० प्रतिशत छ । यसको औसत डिस्काउन्ट रेट ७.११६४ प्रतिशत कायम भएको छ । यसभन्दा अघि जेठ ३० गते निष्कासन भएको ३६४ दिने ट्रेजरीको औसत डिस्काउन्ट रेट ८.१४७६३ प्रतिशत थियो ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।