पोखरा विमानस्थल उद्घाटन भएको ६ महिनापछि अन्तर्राष्ट्रिय विमान अवतरण

0
Shares

पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा पहिलो पटक अन्तर्राष्ट्रिय विमान अवतरण भएको छ । विमानस्थल उद्घाटन भएको करिब ६ महिनापछि अन्तर्राष्ट्रिय चार्टर्ड जहाज अवतरण गरेको हो ।

चिनियाँ वायुसेवा कम्पनी ‘सिचुवान एयरलाइन्स’ को विमान भिआइपी पाहुना र खेलाडी लिएर पोखरा विमानस्थलमा अवतरण गर्यो । जहाज राष्ट्रिय सभाका अध्यक्ष गणेश तिमिल्सिना, चीनको लिङ्जी नगरका उपप्रमुखसहितका उच्च पदस्थ व्यक्तित्वहरू, खेलाडी सहित पोखरा आएका छन् ।

चीनको सिचुवान प्रान्त बाट उडेको २ घण्टा ५५ मिनेटमा जहाज पोखरा आइपुगेको छ । शुक्रबारदेखि पोखरामा हुने ‘ड्रागन बोट रेस फेस्टिभल’मा सहभागी हुन आएका खेलाडीसँगै दर्शक र चिनियाँ पर्यटकहरूले विमान चार्टर्ड गरेका हुन् । जहाजमा १३० जना यात्रु सवार थिए । 

पोखरा अन्तर्राष्ट्रिय विमानस्थल गत जनवरी १ (पुस १७ गते) प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले उद्घाटन गरेका थिए । विमानस्थल २२ अर्ब रुपैयाँ लगानीमा निर्माण भएको हो । विमानस्थल उद्घाटनको दिन हिमालय एयरलाइन्सले परीक्षण उडान गरेको थियो । त्यसयता सिचुवान एयरलाइन्सको पहिलो अन्तर्राष्ट्रिय उडान हुन लागेको हो ।

चीनको सिचुआन एयरलाइन्सको आज चार्टर्ड उडानका लागि नेपाल नागरिक उड्डयन प्राधिकरण र सिचुआन एयरलाइन्सबीच यही असार १ गते सम्झौता भएको थियो । उक्त एयरलाइन्सले चीनको छेन्दुबाट पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा चार्टर्ड उडानका लागि अनुमति पाएको थियो ।

पोखरा विमानस्थलबाट पहिलो अन्तर्राष्ट्रिय उडान हुँदै

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।